काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री महेश आचार्यले पार्टीको विधानको सम्मान र मर्यादा हुन छोडेको भन्दै केन्द्रीय कार्यसमितिको क्षेत्राधिकारबारे नेतृत्वलाई सम्झाएका छन् । आचार्यले कांग्रेसको विधान अनुसार केन्द्रिय समिति होइन, केन्द्रिय महाधिवेशन पार्टीको सर्वोच्च निकाय भन्दै कार्यसम्पादन समितिले गरेका निर्णय समेत अनुमोदन हुनुपर्ने बताएका छन् ।
नेता आचार्यले आसन्न विशेष महाधिवेशनको पक्षमा आफ्नो समर्थन स्पष्ट पार्दै सांगठनिक दुरावस्था र नेतृत्वको वर्तमान संकटले पार्टीको विशेष महाधिवेशन अपरिहार्य बनाएको धारणा व्यक्त गरेका छन्।
आचार्य भन्छन्- कांग्रेस विधान अनुसार केन्द्रिय समिति होइन, 'केन्द्रिय महाधिवेशन' पार्टीको सर्वोच्च निकाय हो। धारा २२ अनुसार केन्द्रिय समितिको पहिलो मुख्य काम 'महासमिति र महाधिवेशनका निर्णय कार्यान्वयन गर्नेु र दोस्रो काम' महासमिति र महाधिवेशनको बैठक नभएको बेला आवश्यक बिषयमा निर्णय गर्ने र पछि हुने महासमिति वा महाधिवेशनमा ति निर्णय अनिवार्य पेश गर्नेु हो।केन्द्रिय समितिले पार्टीको कोष र लेखा परिक्षणको प्रतिवेदन, संसदीय दलको प्रतिवेदन लगायत आफ्ना सबै प्रस्ताव र प्रतिवेदन महाधिवेशनमा प्रस्तुत गर्नु पर्ने बाध्यकारी व्यवस्था छ। अनि धारा १६ अनुसार कार्य समितिले प्रस्तुत गरेका विषयमा छलफल र निर्णय गर्ने अधिकार महाधिवेशनको हुन्छ । साथै विधानले 'अल्पकालीन वा दीर्घकालीन महत्वका विषयमा पार्टीको नीति निर्धारण गर्ने' र 'पार्टी संगठन सम्बन्धी विषयमा नीतिगत निर्णय लिने' अधिकार महाधिवेशनलाई मात्र सुम्पेको छ। यसका साथै 'महाधिवेशनका कम्तिमा १० प्रतिशत सदस्यले केन्द्रिय कार्य समितिका कुनै पनि निर्णय पुनरावलोकन गर्नेु प्रस्ताव राख्न सक्छन र महाधिवेशनले त्यसमा निर्णय गर्न सक्छ।
विधानका यी व्यवस्थाले केन्द्रिय कार्य समितिलाई पार्टीका नीतिगत र सांगठनिक मुद्दामा एकल ढंगले आफु खुसी निर्णय गर्न रोकेको छ र महाधिवेशन प्रति जवाफदेहि बनाएको छ।कार्य सम्पादन समितिका पछिल्ला निर्णयहरुले विधानका यी मर्यादालाई मिच्न थालेका छन। विधानत: आफु जवाफदेहि हुनु पर्ने महाधिवेशनका बहुमत प्रतिनिधिको माँग र अग्रसरतालाई 'अवैधानिक' भन्ने जस्ता निर्णय र प्रचार त्रुटिपुर्ण र आपत्तिजनक हुन पुगेको छ। वस्तुत: कार्य सम्पादन समितिका सबै निर्णय केन्द्रिय कार्य समितिबाट अनुमोदन गराउनु पर्ने निर्णय हुन र अहिले कार्य समितिको बैठक समेत बोलाउन छाडिएको अवस्था छ। भाद्र २३ र २४ पछि देशको गंभीर बन्दै गएको अवस्था संगै हाम्रो पार्टी विधानको निरन्तर वेवास्ता, नीतिगत अन्योल, सांगठनिक दुरावस्था र नेतृत्वको वर्तमान संकटले पार्टीको विशेष महाधिवेशन अपरिहार्य बनाएको छ, नेता आचार्यले सामाजीक सञ्जालमा यस्तो लेखेका छन् ।
प्रतिक्रिया