काठमाडौं । नेपाली काङ्ग्रेसले विशेष महाधिवेशनमा सहभागी नहुन भनी जारी गरेको निर्देशनलाई विशेष महाधिवेशन पक्षले अस्वीकार गर्दै खारेज गर्ने घोषणा गरेको छ । केन्द्रीय कार्यालयका तर्फबाट प्रतिनिधिहरुलाई काठमाडौं नआउन भनेर गृहनगरमै रोक्ने उदेश्यले बुधबार जारी निर्देशन विशेष महाधिवेशन पक्षले अस्वीकार गरेको हो ।
बिहीबार पत्रकार सम्मेलनमा केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको निर्देशनलाई विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।
शिवाकोटीका अनुसार, ‘नेपाली काङ्ग्रेसको हिजो केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको जुन फरमान छ, त्यसलाई नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने कुरा यही पत्रकार सम्मेलन मार्फत घोषणा गर्दछौ ।’
विगतमा राजाले दिएको आदेश नमानेको घटना स्मरण गर्दै शिवाकोटीले विधानसम्मत तरिकाले, विधानको पालना होस् भन्दैगर्दा विशेष महाधिवेशनको औचित्य सकियो भन्ने त्यो आदेशलाई नमान्ने पनि बताए ।
केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिवले जारी गरेको जुन फरमान वा आदेश छ पहिला राजाको समयमा त राजाले दिएको आदेश नमानेको आज विधानसम्मत तरिकाले, विधानको पालना होस भन्दै गर्दा विशेष महाधिवेशनको औचित्य सकियो भन्ने आदेशलाई हामी यहीबाट खारेज गर्छौ ।’
विशेष महाधिवेशनका सन्दर्भमा सदस्यहरुको क्रियाशीलता देखेर, आत्तिएर पटक पटक तर्साउन सकिन्छ भनेर वक्तव्यबाजी र विज्ञाप्तिबाजी भइरहेको भन्दै त्यसैको निरन्तरता स्वरुप आज पनि कार्यसम्पादन समितिको बैठक बोलाएको पनि उनको भनाई छ ।
दुइजना महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा यही २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशनको आयोजना गरिएको छ । यसै सन्दर्भमा महामन्त्रीहरुले बुधबार विभिन्न व्यवसायिक पृष्ठभूमि भएका व्यक्तित्व र विज्ञहरु सहितको उपस्थितिमा परामर्श गरेका थिए । महामन्त्री गगन थापाले विशेष महाधिवेशनको औचित्य र पार्टी एकताको सन्दर्भमा चर्चा गर्दै पार्टी फुट्छ भनेर चलाईएको हल्लाको कुनै सत्यता नभएको बताए । विशेष महाधिवेशनले पार्टी एकतामा कुनै असर नपर्ने थापाको भनाई थियो ।
प्रतिक्रिया