अमेरिकाको भिसा आवेदन दिँदा अब नेपालीले पनि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १–बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१ न ३ तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार तोकिएका देशका नागरिक वा राष्ट्रियताका व्यक्तिहरू, जो बी १–बी २ भिसाका लागि अन्य सबै हिसाबले योग्य ठहरिन्छन, उनीहरूले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर बराबरको धरौटी बन्ड राख्नुपर्नेछ । धरौटीको रकम भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकृतले निर्धारण गर्नेछन् । भिसा बन्ड राख्नका लागि आवेदकले अमेरिकी गृह सुरक्षा विभागको फर्म समेत बुझाउनुपर्नेछ । साथै, आवेदकले अमेरिकी कोष विभागको अनलाइन भुक्तानी प्रणाली मार्फत बन्डको रकम तिर्न सहमति जनाउनुपर्ने व्यवस्था गरिएको छ । यो नियम भिसा आवेदन कहाँबाट दिइएको हो भन्ने कुरासँग असम्बन्धित रूपमा लागू हुने जनाइएको छ ।

अधिकारीहरूले भिसा बन्ड तिरेको आधारमा भिसा स्वीकृत हुन्छ भन्ने ग्यारेन्टी नहुने स्पष्ट गरेका छन् । कन्सुलर अधिकृतको निर्देशनबिना शुल्क तिरेको अवस्थामा उक्त रकम फिर्ता नहुने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया