'हार्ड ल्याण्डिङ' गर्दा निगमको जहाज झण्डै दुर्घटना

काठमाडौं । प्रशिक्षक पाइलट सुवास रिजालले यात्रुमाथि खेलवाड गरी उडान अनुभव (आवर) नै नपुगेका को–पाइलटलाई जहाज अवतरणको जिम्मा (हार्ड ल्याण्डिङ) दिएको खुलेको छ । 

४ डिसेम्बर २०२१ मा काठमाडौं–दिल्ली–काठमाडौं उडानमा प्रशिक्षक पाइलट रिजाल, सेफ्टी पाइलट मुकेशकुमार गुप्ता र तालिम लिइरहेका को–पाइलट निपेन्द्र भट्टराईले उडाएको एयरबस ३२० जहाज काठमाडौंमा अवतरण गर्ने क्रममा जहाजलाई हार्ड ल्याण्डिङ गरेको रहस्य खुलेको हो । 

प्राधिकरणले जारी गरेको निर्देशनमा १५ सय घण्टा नपुगेको को–पाइलटले ल्याण्ड गर्न नपाउने प्रावधान थियो । निगमले १ अप्रिल २०२१ मा सोहीअनुसार आन्तरिक सर्कुलर निर्देशनसमेत जारी गरेको थियो । तर, जहाज अवतरण गर्ने को–पाइलट भट्टराईको करिब ३० घण्टा मात्र पुगेको स्रोतको दाबी छ ।

हार्ड ल्याण्डिङ गरेको बारेमा क्राफ्ट लक बुकमा उल्लेख गरे पनि नियमअनुसार अक्युरेन्स रिपोर्टमा नभरेको खुलेको छ । त्यति मात्र होइन, उनीहरुले हार्ड ल्याण्डिङको विषयमा निगमको अप्रेशन विभाग र व्यवस्थापनलाईसमेत जानकारी नगराई घटनालाई गुपचुप राखेका थिए ।

तर, निगमको सुरक्षा महाशाखाबाट फ्लाइट डाटा एनलाइसेस सिस्टमले जहाजमा गडबडी देखाएपछि घटना बाहिरिएको हो । काठमाडौं अवतरण गर्ने क्रममा को–पाइलटले जहाज ल्याण्ड गर्न खोजेको र सो क्रममा २.२ जीको अत्यधिक भ्यालुमा जहाजलाई रनवेमा बजारेको रिपोर्टमा उल्लेख छ । 

त्यति बेला क्याप्टेनले हताहतार सहयोग गर्न खोजे पनि तत्कालै सम्भावना नभएको रिपोर्टमा देखिएको छ ।

सन् २०२१ जनवरी ८ मा हार्ड ल्याण्डिङ गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले छानबिन समिति गठन गरेको थियो । छानबिन रिपोर्टमा १२ बुँदे सिफारिस गरेर निर्देशन जारी गरेको थियो ।

अप्रेसन विभागबाट २०२१ मार्च ३१ मा नै क्यानको निर्देशनअनुसार गर्न/गराउन सर्कुलर जारी गरिसकेको थियो । तर, क्यानको निर्देशन र विभागीय सर्कुलरको अवहेलना गरी सुरक्षामा गम्भीर लापरबाही गरेको पाइएको हो । 

घटनाको विषयमा निगमले क्यानलाई जानकारी दिएको थियो । क्यानले २ जनवरीमा उक्त घटनाबारे अध्ययन गरी हार्ड ल्याण्डिङका लागि आफूहरुले दिएको निर्देशन पालना नगरेको र अवहेलना गरेको ठहर गर्दै निगमलाई नै आवश्यक कारबाहीका लागि कडा निर्देशनसमेत दिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन (आईकाओ) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई हवाई सुरक्षाको दृष्टिकोणमा विश्वभरका संवेदनशील विमानस्थलमध्ये ‘सी’ श्रेणीमा राखेको छ । इत्तेहाद, एयर अरेबिया, क्याथे प्यासिफिकलगायतका प्रतिष्ठित एयरलाइन्सहरुले काठमाडौंमा जतिसुकै उडान अनुभव भएका को–पाइलट भएता पनि क्याप्टेनले मात्र अवतरण गर्नुपर्ने बाध्यात्मक नियम बनाएका छन् ।

आवर नै नपुगेका को–पाइलटलाई जहाज अवतरणको जिम्मा दिएर यात्रुहरुको सुरक्षामाथि नै खेलबाड गरेको निगमका अधिकारीहरुको भनाइ छ । 

सुरक्षाका हिसाबले संवेदनशील मानिने त्रिभुवन विमानस्थलमा प्रशिक्षक पाइलटले यस्तो लापरबाही गर्नु गम्भीर गल्ती भएको अधिकारीहरुले बताएका छन् ।
 

प्रतिक्रिया