रौतहट । धनुषामा भएको घटनालाई लिएर उत्पन्न विवादका कारण अशान्त बनेको वीरगञ्जमा जारी कफ्र्युको अवधि थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आज मङ्गलबार दिउँसो १ बजेसम्मका लागि कफ्र्युलाई निरन्तरता दिएको हो । यसअघि प्रशासनले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो । तर, तोकिएको समयभित्र स्थिति पूर्ण रूपमा सामान्य नभएपछि स्थानीय प्रशासनले थप ५ घण्टा कफ्र्यु लम्ब्याउने निर्णय गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार संवेदनशील क्षेत्रहरूमा अझै सुरक्षा सतर्कता आवश्यक देखिएकाले शान्ति–सुरक्षा कायम राख्न कफ्र्यु थप्नुपरेको हो । ‘हामीले अवस्थाको निरन्तर मूल्याङ्कन गरिरहेका छौँ,’ प्रजिअ दाहालले भने, ‘दिउँसो १ बजेपछि परिस्थितिको समीक्षा गरी कफ्र्यु खुकुलो पार्ने वा थप गर्ने भन्नेबारे पुन: निर्णय लिइनेछ ।’
कहाँ–कहाँ छ कफ्र्यु ?
प्रशासनले वीरगञ्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रलाई कफ्र्यु क्षेत्र तोकेको छ । यो अवधिमा सर्वसाधारणलाई घरबाहिर निस्कन, भेला हुन, जुलुस निकाल्न वा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
सुरक्षा व्यवस्था कडा
तनाव उत्पन्न भएपछि वीरगञ्जका मुख्य चोक, बजार र संवेदनशील क्षेत्रहरूमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ । सुरक्षाकर्मीहरूले निरन्तर गस्ती गरिरहेका छन् । प्रशासनले अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूलाई भने परिचयपत्रका आधारमा आवतजावतमा छुट दिएको छ । जिल्ला प्रशासन कार्यलयले दुवै समुदायलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।
प्रतिक्रिया