धनुषा घटनाको विरोधमा वीरगन्जमा उग्र प्रदर्शन, प्रहरीद्वारा ५ राउन्ड अश्रु ग्यास प्रहार

वीरगन्ज । धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् ।

आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तनावपूर्ण बनेको थियो । वीरगन्ज वडा नम्बर २ बाट निस्किएको प्रदर्शनकारीको जुलुसलाई रोक्ने क्रममा प्रहरीले करिब ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।प्रदर्शनकारीहरूले धनुषा घटनाको विरोध गर्दै नाराबाजीसहित बजार क्षेत्रतर्फ बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरी बिटमा तोडफोड प्रदर्शनका क्रममा आक्रोशित भीड र प्रहरीबीच भएको भागदौड र झडपमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका थिए । सो क्रममा छपकैयास्थित सामुदायिक प्रहरी बिटको झ्याल र बोर्डमा क्षति पुगेको छ । प्रदर्शनकारीहरूले वीरगन्जको छपकैया, इदगाह चोक, घण्टाघर र मुड्ली लगायतका मुख्य स्थानहरूमा टायर बालेर सडक अवरुद्ध गर्दै विरोध जनाएका थिए ।

दुई प्रहरी घाइते, एक जना नियन्त्रणमा झडपका क्रममा ढुङ्गा लागेर २ जना प्रहरी सामान्य घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन एक जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । यद्यपि, स्थिति सहज बनाउन उनीहरुलाई पछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले हाल वीरगन्जको अवस्था सामान्य रहेको जानकारी दिए । ‘अहिले अवस्था नियन्त्रणमा छ,’ प्रवक्ता कार्कीले भने, ‘हामीले नियन्त्रणमा लिएका एक जना प्रदर्शनकारीलाई छाडिसकेका छौँ । अवस्थाको गम्भीरतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ र आवश्यक स्थानमा प्रहरी परिचालन गरिएको छ ।’ अप्रिय घटना हुन नदिन वीरगन्जका संवेदनशील क्षेत्रहरूमा प्रहरीले सुरक्षा गस्ती बढाएको छ ।

प्रतिक्रिया