निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने दल पुगे ६४, कांग्रेस सबैभन्दा ढिलो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा कांग्रेसले मंगलबार दिउँसो बन्दसूची आयोगमा बुझाएको हो । 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साढे ११ बजेपछि कांग्रेसकातर्फबट ११० जनाको नाम आयोगमा बुझाएका हुन् । कांग्रेसले सूची बुझाएपछि समानुपातिक तर्फ उम्मेदवारी पेश गर्ने दलको संख्या ६४ पुगेको छ ।

कांग्रेसले बन्दसूचीमा २०६४ देखिका समानुपातिक सांसदहरूलाई समावेश गरेको छैन । कोसी प्रदेशबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिम १० उम्मेदवार समावेश गरिएको छ ।

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारी तीव्र बन्दै गएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची पेश गर्ने अन्तिम दिन हिजो निर्वाचन आयोगमा दलहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।

 तोकिएको समयभित्र आयोगमा उपस्थित भएका दलहरूलाई समयको कुनै बन्देज नराखी सेवा प्रवाह गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले समानुपातिक बन्द सूची प्रक्रिया सहज बनाउन दुईवटा टोली परिचालन गरेको छ। पहिलो टोलीले उम्मेदवार योग्य छन् कि छैनन्, मतदाता नामावलीमा नाम छ कि छैन भन्ने जाँच गरी निस्सा प्रदान गर्दछ भने निस्सा प्राप्त भएपछि दोस्रो टोलीले सम्बन्धित दलको बन्द सूची दर्ता गर्ने काम गरेको थियो ।

प्रचलित कानूनअनुसार प्रति दल ५० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था छ। बन्द सूची दर्ता प्रक्रिया सकिएपछि आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिक तथा समावेशी मापदण्ड पूरा भएको छ कि छैन भन्ने रुजु कार्य सुरु गर्नेछ। सो क्रममा कुनै त्रुटि भेटिएमा सम्बन्धित दललाई सच्याउन निर्देशन दिइनेछ ।

नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत ठूला र साना दलहरू छन्। बन्द सूची बुझाउने दलहरूको सूचीमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, माक्सवादी पुष्पलाल समूह, गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टीहरू लगायत अन्य दलहरू समावेश छन्।

निर्वाचन आयोगका अनुसार ६४ दलले उम्मेदवारी दिए पनि ५८ वटा मात्रै निर्वाचन चिह्न उपलब्ध छन्। केही दलहरू संयुक्त चुनाव चिह्न प्रयोग गर्दै निर्वाचनमा सहभागी हुने तयारीमा छन्।

 

प्रतिक्रिया