काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्न गम्भीर परामर्श र गृहकार्य भइरहेको बताएकी छन् ।
बिहीबार त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले दलीय हस्तक्षेपको अवस्थालाई अन्त्यगरी विश्वविद्यालयलाई प्राज्ञिक वहसको थलो बनाउन सबै पक्षको प्रयास आवश्यक रहेको बताइन् । यस्तै उनले शिक्षामा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता रहेको पनि धारणा राखिन् । उनले भनिन्,‘नेपालमा शिक्षामा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता छ । सँगै यस क्षेत्रमा सुनिने गरेको दलीय हस्तक्षेपको अवस्थालाई अन्त्यगरी विश्वविद्यालयलाई प्राज्ञिक वहसको थलो बनाउन सबै पक्षको प्रयास आवश्यक छ । शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै हामीले केही ठोस कदम थालेका छौं । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको हो । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।’
त्यस्तै प्रधानमन्त्री कार्र्कीले शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यवहारिक शैक्षिक कार्यक्रम थप गर्नुपर्नेमा जोड दिइन् । ‘नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश गइरहेको अवस्थामा शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यवहारिक शैक्षिक कार्यक्रम थप गर्ने विषयमा पनि सरोकारवालाहरुले पर्याप्त ध्यान दिनुपर्ने देख्दछु,’उनले भनिन् । परिक्षाको नतिजा समयमा नआउने गुनासो विद्यार्थीहरुबाट आफूले सुनेको बताउँदै उनले यस्तो अवस्था किन आयो भनि सरोकारवालाहरुले उत्तर खोज्नुपर्ने बताइन् ।
प्रतिक्रिया