महावीर पुनले भने- 'ध्यानको उत्पति स्थल नेपाल हो, यसमा गौरव गर्नुपर्छ'

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ध्यानको उत्पति स्थल नेपालमै भएको उल्लेख गर्दै यसप्रति राष्ट्रिय गौरव गर्नुपर्ने बताएका छन् ।

आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस २०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले ध्यानलाई विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री पुनले ध्यान नेपाललाई विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको बताए । ‘ध्यानको उत्पादन स्थान नेपाल हो । यो कुरामा हामीले गौरव गर्नुपर्छ र यसलाई हामीले संसारभर फैलाउनुपर्छ । ध्यान विश्वसामु नेपाललाई चिनाउने माध्यम पनि हो । यसरी नेपाललाई परिचित गराउने मात्र होइन यसबाट धेरै भन्दा धेरै विदेशी पर्यटकहरु देशमा निमन्त्रणा गरेर नेपालमा पर्यटनको व्यवसाय पनि बढाउन सकिन्छ,’ उनले भने ।

उनले आधुनिक विज्ञान र प्रविधिमा नेपाल पछि परेको स्वीकार गर्दै त्यसका कारण मुलुक विदेशी उत्पादनमा निर्भर हुनुपरेको  बताए ।

उनले भने, ‘हामी आधुनिक विज्ञान र प्रविधिमा धेरै पछि पर्यौं । आधुनिक विज्ञान र प्रविधिको विकास गर्न नसकेर सम्पूर्ण रुपमा विदेशीमा भर पर्नुपर्ने भयो । विदेशमा बनेका बस्तु नेपालमा आयात गर्नुपर्दा हाम्रो अर्थतन्त्र बढाउन नसकिने भयो ।’

मन्त्री पुनका अनुसार ध्यान र योगको जन्मभूमि नेपाल भएकाले यसलाई पर्यटनसँग जोडेर अर्थतन्त्र सुधार गर्न सकिन्छ ।

‘ध्यान र योगको प्रवद्र्धनमार्फत पर्यटन विस्तार गर्न सके नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ,’ उनले बताए ।

प्रतिक्रिया