काठमाडौं । देवेन्द्र गौतम पत्रकारिता पुरस्कार समितिले अबदेखि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रत्येक वर्ष फेब्रुअरी १३ अर्थात् स्व. देवेन्द्र गौतमको जन्मजयन्तीको अवसरमा प्रदान गर्ने निर्णय गरेको छ । यो व्यवस्था सन् २०२६ देखि लागु हुने समितिले जनाएको छ ।
यसअघि उक्त पुरस्कार स्व. देवेन्द्र गौतमको स्मृति दिवसमा प्रदान गरिँदै आएको थियो । तर करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा स्व। देवेन्द्र गौतमकी धर्मपत्नी प्रदीपा गौतमको पहलमा यो परम्परामा परिवर्तन गरिएको हो ।
अध्यक्ष प्रदीपा गौतमका अनुसार, स्मृतिदिवसभन्दा जीवन र योगदानलाई उत्सवका रूपमा सम्झनु उचित ठानेका छौँ । देवेन्द्र गौतमले अँगालेका मूल्य र पत्रकारिताको भावना जीवित रहोस् भन्ने उद्देश्यले अब यो पुरस्कार जन्मजयन्तीका दिन प्रदान गरिनेछ ।
यसपटक जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई नेपाली पत्रकारितामा पु¥याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै एक लाख नगद राशीको देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिने भएको छ ।
यसैगरी, करेन्ट पब्लिकेशनमा ३५ वर्षभन्दा बढी समयदेखि निरन्तर योगदान पु¥याका प्राविधिक हरि बहादुर थापा मगरलाई पचास हजार राशीको देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिनेछ ।
यस्तै, चाइना न्युज सर्भिसका वरिष्ठ पत्रकार झाङ छनयी (चीन) लाई नेपाल–चीन सञ्चार र अन्तर्राष्ट्रिय पत्रकारितामा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप पचास हजार राशीको देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिनेछ ।
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार नेपाली पत्रकारिताका अग्रणी व्यक्तित्व, नेपाल पोस्टका संस्थापक स्व. देवेन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको हो । सत्य, निष्ठा, जनउत्तरदायित्व र दीर्घकालीन पत्रकारिता योगदानलाई सम्मान गर्नु यस पुरस्कारको मूल उद्देश्य रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया