पूर्व प्रधानन्यायाधीश नेतृत्वको मन्त्रीपरिषदमा गैरराजनीतिक १४ सदस्यलाई जिम्मेवारी

काठमाडौं । २७ भदौमा गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नयाँ चारजना मन्त्री थपिएपछि अब १४ सदस्यीय मन्त्रीपरिषद बनेको छ। प्रधानमन्त्री कार्कीले नयाँ सदस्य थपेर आफ्नो नेतृत्वको सरकारको आकार बढाएर जेनजी समूहहरुका माग पूरा गर्दै सेवा प्रवाह चुस्त बनाउने योजना बनाएकी हुन् ।

थपिएका चार मन्त्रीले आज शुक्रबार शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए ।

मन्त्रिपरिषद्का चारजनाले एकभन्दा बढी मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। प्रधानमन्त्री कार्कीसँग भने परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालयको थप जिम्मेवारी छ। यसैगरी अर्थमन्त्री रामेश्वर खनालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी निर्वाह गरिरहेका छन्।

कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी चार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्। थपिएका नयाँ अनुहारमा कुमार इङ्नाम कानून व्यवसायी हुन् भने राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका अवकाशप्राप्त विशिष्ट श्रेणीका अधिकृत हुन् । 

न्याय सेवामा लामो समय काम गरेर सर्बोच्च अदालतको प्रधानन्यायाधीशबाट अवकाश प्राप्त गरेकी कार्कीले आकस्मिक रुपमा सरकारको नेतृत्व पाएपछि उनको मन्त्रीपरिषदमा पनि विभिन्न पेशा व्यवसायमा काम गरिसकेका र गरिरहेका गैरराजनीतिक व्यक्तिहरु समेटिएका छन् । 

प्रधानमन्त्री कार्कीले तीनवटा जेनजी समूहसँग १० बूँदै सम्झौता गरिएको भोलिपल्ट मन्त्रीपरिषद विस्तार गरेकी छिन् । २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन गराउने मुख्य दायित्व पाएको यो सरकार राजनीतिक संवादमा निकै कमजोर देखिएको    छ । दलहरु र सरकारबीच शंकाको सम्वन्ध देखिएको छ । यही कारण हुनसक्छ निर्धारित समयमा निर्वाचन त हुनसक्छ भनेर आशंका पनि गरिएको पाईन्छ ।

यस्तो छ जिम्मेवारी वितरण

सुशीला कार्की: प्रधानमन्त्री परराष्ट्र, रक्षा, खानेपानी

रामेश्वरप्रसाद खनाल: अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कुलमान घिसिङ: ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायातस सहरी विकास

ओमप्रकाश अर्याल: गृह

अनिलकुमार सिन्हा: उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

महावीर पुन: शिक्षा, विज्ञान तथा प्रविधि

मदनप्रसाद परियार: कृषि तथा पशुपन्छी विकास

जगदीश खरेल: सञ्चार तथा सूचना प्रविधि

सुधा गौतम: स्वास्थ्य तथा जनसङ्ख्या

बब्लु गुप्‍ता: युवा तथा खेलकुद

कुमार इङ्नाम: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

राजेन्द्रसिंह भण्डारी: श्रम, रोजगार तथा सामाजिक सुरक्षा

माधवप्रसाद चौलागाई: वन तथा वातावरण

श्रद्धा श्रेष्‍ठ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक  । 

प्रतिक्रिया