ओलीलाई आयोगमा बयान दिन वरिष्ठ उपाध्यक्ष पोखरेलको सल्लाह

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा गएर आफ्ना भनाई राख्न सुझाव दिएका छन् ।

एमालेको ११ औं महाधिवेशनको पूर्व सन्ध्यामा बुधबार पत्रकारसँग अन्तरिक्रिया गर्दै पोखरेलले   अध्यक्ष ओलीले आयोेगमा बयान दिनुपर्ने बताएका हुन्। 

भदौका ती दुइ घटना भएका बेला सरकार प्रमुख भएका कारण ओलीले जाँचबुझ आयोग समक्ष बयान दिनु उचित हुने पोखरेलको भनाई छ ।

सरकारले बनाएको आयोग हो। हाम्रा कतिपय रिजर्भेसन होलान् तर बयान दिन जानुपर्छ। म भएको भए जान्थेँ। अझै अगाडि नबोलाईकन नै जान्थेँ होला। त्यसको अवज्ञा गर्नुले राम्रो सन्देश जाँदैन, पोखरेलले जोड दिएर भने ।

भदौ २३ र २४ गतेको घटनालगत्तै जसरी सामाजिक सञ्जालमा आफूलाई एउटा मान्यताको आधारमा उभ्याउनुभयो तिनै व्यक्ति आयोगको अध्यक्ष हुँदा निष्पक्ष छानबिन कसरी होला भन्ने प्रश्न उठ्नु अस्वाभाविक नभएको उनको भनाई छ । 

आयोगमा बयान दिन जाने, भन्न जाने, तथ्यहरू प्रस्तुत गर्न जाने विषयलाई अन्यथा लिनुहुँदैन। जानुपर्छ। हाम्रो अध्यक्ष पनि जानुहुन्छ पोखरेले भने ।

 अध्यक्ष ओलीले भने आयोगसमक्ष बयान नदिने अडान लिँदै आएका छन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आफू ११औं महाधिवेशनमा पूर्ण तयारीका साथ अध्यक्ष पदमा उम्मेदवार हुन लागेको पनि दोहोर्याए । 

नेताहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्ड, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण बिष्ट लगायत उपस्थित पोखरेलले आगामी महाधिवेशनले नेता परिवर्तन गर्ने दावी पनि गरे ।

यही मंसिर २७ देखि २९ सम्म काठमाडौंमा एमालेको महाधिवेशन हुँदैछ । 
 

प्रतिक्रिया