काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका छन् । ‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो,’ थापाले एक टिभी सम्वादमा घोषणा गरे, ‘मलाई के विश्वास छ भने, नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, मलाई विश्वास गर्नुहुन्छ।’
गगनले औपचारिक घोषणा सभा पनि आयोजना गर्लान् या नगर्लान् पनि तर सञ्चारमाध्यमबाट आफ्नो उम्मेदवारीको उद्घोष भने गरेका छन् ।
गगन ठूला राजनीतिक दलहरुका नयाँ पुस्ताका नेताहरुमा गणना गरिएका नेता हुन् । अरु दलमा उनकै समकालीन नेताहरु पनि उनीहरुका आआफ्ना दलभित्र प्रतिष्पर्धी ठानिएका छन् । गगन भने पार्टीको नेतृत्व नै ताकेर अघि बढेका नेतामा दरिएका छन् । उनको दावी सर्वथा अनौठो मानिएको छैन र उनलाई चुनौति दिन समकालीन नेताहरु अघि बढ्ने सम्भावना पनि देखिएको छैन । महाधिवेशन लक्षित गतिविधि विस्तारै चलमलाएको देखिन्छ भने विभिन्न तहको नेतृत्वमा दावी गर्ने अरु उम्मेदवारहरु क्रमश अगाडि आउने नै छन् ।
लोकतान्त्रिक आन्दोलनका सक्रिय युवा नेताका रुपमा राजनीतिक आकाशमा उदाएका गगन नेपाल विद्यार्थी संघको नेतृत्वपछि सिधै पार्टीका महत्वपूर्ण जिम्मेवारीमा पुगेका हुन् । उनी पहिलो संविधान सभा र दोस्रो संविधान सभाको सदस्य निर्वाचित भएर संसदीय भूमिका पुगे र उल्लेखनीय उपस्थिति पनि देखाएकै हुन् । त्यसपछि प्रतिनिधिसभाको निर्वाचनमा समेत चुनिएर गगन संघीय सरकारको क्याबिनेट सदस्य नै भए । उनले पहिलो पटक नेपाल सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भूमिका पाए र त्यसमा गणना गर्न लायक केही सुधारका काम पनि गरेर देखाए ।
यता पार्टीको १४औं महाधिवेशनबाट आफ्नो पार्टीको महामन्त्री नै चुनिए । यो पदले उनलाई पार्टीभित्रको शीर्ष नेतृत्वको पङ्तिमा उभ्यायो ।
विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतितर्फ अघि बढ्दा गगनलाई त्यस्तो उल्लेख्य अवरोध पनि आएन । उनी सरासर पार्टीको अग्रपंक्तिको आसन ग्रहण गर्ने हैसियतमा पुगे । यति भएपछि गगन निर्वाचनहरुमा आकांक्षीहरुको भाग्य चयन गर्ने र पार्टीका निर्णायक मोडहरुमा महत्वपूर्ण पात्र पनि बने । कांग्रेसको विद्यार्थी संघ, संविधानसभा सदस्य, सांसद र मन्त्री हुँदै अघि बढेका गगन अहिले महामन्त्रीको आसनबाट सिधै पार्टी नेतृत्व ताक्ने आँट जुटाउने हैसियतमा पुगेका छन् । यस दृष्टिबाट हेर्दा गगन अब नेपाली कांग्रेस र राष्ट्रिय राजनीतिको आवश्यकता बनेका छन् भन्दा अत्युक्ति नहोला ।
के हुन् त गगनका उपलब्धि र सकारात्मक पक्षहरू
भनिन्छ गगनको युवा केन्द्रित प्रगतिशील छवि छ । गगन लामो समयदेखि युवा नेतृत्व र नयाँ सोचको प्रतीक मानिन्छन् गगन। धेरै पुस्तामा कांग्रेस पुराना, पारम्परिक बूढो नेतृत्वको दल हो भनेर टिप्पणी गर्ने गरिन्छ। तर गगनले कांग्रेसमा युवालाई सक्रियता, नयाँ ऊर्जा, र रूपान्तरणको कुरा उठाउँदै आएको भनेर उनलाई क्रेडिट दिने गरिएको पाइन्छ।
गगनले स्वास्थ्य, शिक्षा, रोजगारी लगायतलाई आफ्नो एजेन्डाको केन्द्रमा राख्ने बताउँदै आएका छन्। यसै वर्ष कतिपय सन्दर्भमा बोल्दा गगनले पार्टीलाई आगामी तीन वर्षका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकताका रूपमा अघि सारेर काम गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
हरेक निर्वाचन जित्दै आएका र झण्डै चार वर्ष देखि महामन्त्री पदमा रहेर काम गरेका गगन पार्टी भित्र मात्र नभई राष्ट्रिय स्तरमा पनि स्थापित राजनीतिक व्यक्ति हुन् भन्न सकिने अवस्था छ। यो निरन्तरता र दृढता राजनीतिक जीवनमा उनका लागि ठूलो बल हो। गगनले यतिमात्र होइन नयाँ पुस्तालाई राजनीतितिर आकर्षित गराउने र पार्टीमा सुधारको वकालत पनि जमेरै गर्दैआएका छन् ।
कांग्रेसलाई “पुरानो पार्टी” भनेर आलोचना गरिँदै आएको अवस्थामा, गगनले कांग्रेसको भित्री पुनर्गठन र नवीकरणको कुरा उठाएर युवा पुस्ता, नयाँ विचार, पारदर्शिता र सुशासनतिर पार्टीलाई लैजाने आफ्नो दृष्टिकोण पनि प्रष्टसँग राख्दैआएका छन् ।
गगनका चुनौतिहरू र आलोचना
कतिपय आलोचकले भन्ने गरेका छन् युवा छवि भए पनि गगनले अपेक्षित रूपमा ठूला नीतिगत परिवर्तन गर्न सकेनन्। पार्टी भित्रका संरचनागत समस्याहरु कांग्रेसको पुराना पद्धति सुधार गर्ने काममा उनले सुधारका त्यस्ता महत्वपूर्ण निर्णय गराउन भने सकेका छैनन् ।
दलभित्रको संरचनागत विरोध, पुराना शक्तिशाली नेताहरुसँगको मतभेद र शक्तिको सञ्जालले गगनको एजेन्डालाई सीमित बनाएको पनि टिप्पणी गरिएको सुन्न र पढ्न पाईन्छ।
हालको राजनीतिक परिवेशमा नयाँ पार्टी, नयाँ युवा नेता, विभाजित मत, गठबन्धन र परिवर्तनप्रति आम जनताको असन्तुष्टिबीच गगनले नेतृत्व ताकेका छन् । पुराना सोचविचार, कार्यशैली र बढप्पन त्याग्न नचाहने नेताहरुको भीडबाट गगनले नेपाली कांग्रेस जस्तो वयोवृध्द पार्टीको नेतृत्व हत्याउन सक्लान र भनेर अविश्वास प्रकट गर्ने जनमत पनि उल्लेखनीय देखिन्छ ।
आलोचनाका अन्य धेरै पक्षहरु पनि होलान् तर मुलभूत रुपमा भने पार्टीको संगठनमा राष्ट्रिय छवि र प्रभाव स्थापित हुने क्रममा रहेका गगनले सभापति पदमा निर्वाचित हुन परम्परागत र आधुनिक दुवै सोचविचार र व्यवहारको सन्तुलन प्राप्त गर्न आवश्यक देखिन्छ । नेपाली कांग्रेसमा जेलनेल, त्याग तपस्या, वलिदान र प्रवासको कथावाचकहरुको बजार त्यतिसारो खस्किसकेको पनि देखिँदैन । त्यसो भनेर नयाँ पुस्ता निम्छरो अवस्थामा छ भन्ने पनि होइन, यसलाई सशक्त ढंगले जगाउन सके भने गगनले पार्टी रुपान्तरणको नवीन कदम सफल बनाउन पनि सक्नेछन् ।
गगनको युवा–नेतृत्व सुधार सामाजिक नीतिको एजेन्डा, यदि कार्यान्वयन भयो भने — विशेषगरी शिक्षा, स्वास्थ्य र रोजगारीमा — त्यो धेरै नेपाली युवाका लागि आकर्षक विकल्प बन्न सक्छ। हालको युवाहरुमा व्याप्त निराशा भनेको सेवा प्रवाहमा चरम लापबाही, अपारदर्शिता र चुलिँदो भ्रष्टाचार सँगै बेरोजगारी, संसदीय राजनीतिमा धोका जस्ता विषय मध्येको चासो–बिन्दु हो।
पार्टीभित्रको पुरानो संरचना–संस्कृति परिवर्तन गरेर, कांग्रेस देशको प्रमुख नयाँ पुस्ताको पार्टी बन्न सक्छ। यदि गगनले नेतृत्वका लागि दाबि गर्छन् भने — सम्भवतः पार्टी सभापति या भविष्यमा प्रधानमन्त्रीसम्म युवा तथा मध्यम उमेरका मतदाताका लागि महत्वपूर्ण विकल्प बन्न सक्छ। तर, त्यो सम्भावना केवल सम्भावना हो — सफल र कार्यकारी कदम, जनताको विश्वास, वास्तविक सुधार र नीतिगत प्रतिबद्धता चाहिन्छ। यदि पार्टी र गगनले पुरानो संरचना परिवर्तन गर्न सक्दैनन् भने, “कुरा वा भाषण मात्र” भन्ने आलोचना अझ बढ्न सक्छ।
अर्को महत्वपूर्ण अड्चन हो युवा पुस्तामा नयाँ विकल्प नयाँ पार्टी र नेतृत्वको बढ्दो आकर्षण। उनको सम्भावना अस्वाभाविक रूपमा ठूलो छ, तर त्यो सम्भावना यथार्थमै परिणत गर्न उनले ‘नियमितता, नीतिनिर्माण, जनअपेक्षा र सुधार’ का बीच समन्वय गर्न धेरै मेहनत र सकारात्मक कदम चाल्नैपर्ने हुन्छ।
गगनका बारेमा यसो पनि भनिन्छ, गगनलाई चाहने र आलोचनात्मक दृष्टिकोण राख्ने मानिसहरु उनलाई व्यक्तिगत तथा नेतृत्व–आधारित कमजोरीहरू रहेको भनेर टिप्पणी गर्दछन् । गगन लोकप्रिय कुराकानी गर्न बढी रुचाउने तर परिणाममुखी काम भने अलिक कम गर्छन् पनि भन्छन् । हो गगन उत्कृष्ट वक्ता, बहसकर्ता र एजेन्डा–सेटर होलान् तर ठोस नीतिगत उपलब्धि औसत मात्र हात परेको पनि भनिन्छ।
यसैकारण होला, कहिलेकाहीं उनलाई “भिजन राम्रो तर कार्यान्वयन कमजोर” भन्ने आलोचना गरिन्छ। अत्यधिक आदर्शवादी देखिने समस्याले गगनलाई कहिलेकाँही अप्ठेरो पार्न सक्ने देखिन्छ । कतिपयले भन्छन्, नेपाली राजनीति कच्चा, कठोर, गठबन्धन–आधारित, व्यवहारिक–राष्ट्रनीतिमा चल्छ । त्यसका लागि धेरै चतुर कार्यशैली आवश्यक पर्ने गर्दछ । यस्तो परिस्थितिमा गगनको आदर्शवाद संकटमा पर्न पनि सक्दछ । यसका साथै गगन कूटनीतिक र नरम–नेतृत्व शैलीका कारण गम्भीर राजनीतिक द्वन्द्वमा कमजोर देखिन्छन्।
गगनसँग जनसमर्थन छ तर पार्टीको शक्ति–केन्द्र, चुनाव टिकट वितरण, संगठन नियन्त्रण जस्ता विषय अझै पनि पुराना नेताकै हातमा छ। यसले गगनको ‘रिफर्म एजेन्डा’ नै बारम्बार रोकिन सक्छ।
अब देशमा २५–३५ वर्षका नयाँ अनुहारहरू सक्रिय भइरहेका छन्। हालैको जेनजी विद्रोहपछि त परिस्थितिमा आमूल परिवर्तन ल्याईदिएको छ जसलाई हलुका रुपमा लिन सकिँदैन । यस आलोकमा हेर्दा गगन अब नयाँ पुस्ताका प्रतिनिधि नमानिने जोखिम पनि उत्तिकै छ । उनले नयाँ पुस्ताको मागलाई सशक्त आवाज दिने वचन र त्यस अनुरुपको कार्य गरेर देखाउन सक्नुपर्छ । अन्यथा उनको राजनीतिक भविष्य नै जोखिममा नपर्ला भन्न सकिँदैन ।
गगनलाई कतिपय मानिसले ‘मिडिया–जेनेरेटेड’ नेता पनि भन्ने गरेका छन् । ठूला निर्णयमा निर्णायक भूमिका नभएको र कांग्रेसका ठूला विवादमा कहिल्यै निर्णायक स्ट्यान्ड लिन नसकेको भनेर गगन आलोचित भएका छन् ।
गगनमा सम्भावना धेरै छ, तर ती सम्भावनालाई परिणाममा बदल्न नेतृत्व–निर्णय, पार्टी–व्यवस्था, व्यावहारिक कूटनीति र नीतिगत कार्यान्वयनमा ठूलो छलाङ चाहिन्छ । यदि उनी यी कमजोरीका भागहरूमै सुधार गर्न सके भने कांग्रेसपछि देशकै नेतृत्व उनीबाट सम्भव छ ।
संगठन सुधार, नीति–कार्यक्रममा स्पष्टता, तथा आधुनिक राजनीतिक शैलीप्रतिको आकर्षण छ गगनमा । पारदर्शिता, जवाफदेहिताजस्ता मुद्दामा निरन्तर बोलिरहने छवि पनि छ। कोइराला–देउवा समूहहरूबीच सन्तुलन मिलाउँदै दीर्घकालीन गठबन्धन बनाउने चुनौति पनि छँदैछ । पार्टी पुनर्गठन, निर्वाचन रणनीति, र नीति निर्माणमा आफ्नो प्रभाव विस्तार गर्दै जानु छ पर्छ नै ।
पुरानो संरचना परिवर्तन गर्नका लागि आन्तरिक प्रतिरोध । नीतिगत कठोर निर्णयहरूमा पार्टीभित्रकै दबाब । स्वतन्त्र छवि बलियो बन्दै राष्ट्रिय राजनीतिक व्यक्तित्वमा उक्लिने परिदृश्य जसमा गगन पार्टीभित्र रहँदै वा आबद्धता कम गर्दै व्यापक राष्ट्रिय छवि निर्माणतर्फ जान सक्छन् ।
संचार कौशल, डिजिटल उपस्थिति र सार्वजनिक बहसमा प्रभावशाली भूमिकाले राष्ट्रिय नेता बन्ने सम्भावना पनि छ गगनमा । अब गगनको भविष्य पार्टीभित्रको शक्ति समीकरण, राष्ट्रिय राजनीतिक चालचलन, र उनले रोज्ने रणनीतिक बाटोमा धेरै निर्भर छ ।
तीनै परिदृश्य सम्भव छन्—तर कुन परिदृश्यतर्फ झुकाव बढ्छ भन्ने कुरा आगामी २–४ वर्षको गतिशीलता, विशेषगरी कांग्रेसभित्रको नेतृत्व रूपान्तरणले निर्धारण गर्नेछ ।
हेर्नुहोस् यो भिडियो सामग्री पनि- गगन थापा कसको आशिर्वादमा सभापति उठ्न खोज्दैछन्
प्रतिक्रिया