नेपाली जनशक्ति वाहिर जानुपर्ने वाध्यता अन्त्य गर्न दरवन्दी व्यवस्थापन जरुरी’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले नेपालभित्र उत्पादित जनशक्ति बाहिर गएर काम गर्नुपर्ने वर्तमान अवस्था रहेको बताएकी छन् । 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा उत्पादित जनशक्तिलाई नेपाल सरकारको सेवाभित्र दरबन्दी सिर्जना गर्न नसकेको भन्दै उत्पादित जनशक्ति बाहिर काम गएर काम गर्नुपरेको बताएकी हुन् । उनले भनिन्, ‘अहिले भएको रणनीतिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज र समान पहुँच, दोस्रोमा साधन स्रोत र जनशक्ति व्यवस्थापन गर्ने भन्ने कुरा छ । मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान भएको मानिस पहिलाको तुलनामा बढेका छन् । केही नभएपनि वर्षमा १०, १२ जना मनोचिकित्सक उत्पादन हुने अवस्था छ । सरकारको सेवाभित्र दरबन्दी सिर्जना गर्न सकेका छैनौं । उत्पादित जनशक्ति बाहिर गएर काम गरिरहेका कारण दरबन्दीहरुको व्यवस्थापन गर्न सक्नुपर्ने छ ।’

यस्तै, उनले मन्त्रालय अगाडि बढ्ने क्रममा तालिम, औषधी, परामर्श सेवा र स्वास्थ्य संस्थाहरुलाई अझै बढि सुदृढिकरण गर्नुपर्ने भन्दै मानसिक स्वास्थ्य सेवा पनि विस्तार गर्ने दिशातर्फ अगाडि बढेको बताइन् । उनले भनिन्, ‘स्वास्थ्य मन्त्रालयको कोणबाट हेर्दा हामीले संविधानमा नागरिकलाई आधारभूत स्वास्थ्यको पहुँचमा ल्याउने भन्ने कुरा नै छ । त्यसको लागि मानसिक स्वास्थ्यको औषधीहरु स्थानीय तहमा पनि पुर्याएका छौ । कहींकतै कमी कमजोरी होला तर अहिले पूर्वदेखि पश्चिमसम्म हेर्नुपर्ने छ । अगाडि बढ्ने क्रममा तालिम, औषधी, परामर्श सेवा र हाम्रो स्वास्थ्य संस्थाहरुलाई अझै बढि सुदृढिकरण गर्नुपर्छ र मानसिक स्वास्थ्य सेवा पनि विस्तार गर्नुपर्छ भन्ने नै छ र त्यो दिशामा हामी लागि रहेका छन् ।’ समाजमा भएको असन्तुष्टिहरु, आक्रोशहरु सबै मानसिक समस्या नै हो र त्यसको बिस्फोट केही समय अगाडिदेखि पनि सकेको उनको भनाई छ । 

प्रतिक्रिया