जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छ : सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताएका छन् । 

आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेनजी आन्दोलनले प्रमाणित गरेको बताएका हुन् । ‘जेनजी आन्दोलनले समकालिन नेपाली राजनीतिको चेतना खोलिदिएको छ । समावेशी बनाउन नसक्दा पुस्तौपुस्तालाई हामीले छोड्दाखेरी कुन तहको आन्दोलन हुन सक्दो रहेछ भन्ने कुरा भदौं २३ र २४ को आन्दोलनले प्रमाणित गरेको छ ।’

त्यस्तै उनले आजको घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्र नभई देश संकटको घडीमा भएको अवस्थामा सबै लोकतान्त्रि,प्रगतिशीलहरु र राष्ट्रको चिन्ता गर्नेहरु एकठाउँमा आउनेदिन भएको बताए । उनले भने,‘आजको यो घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्र होइन् । यो संकटको घडीमा सबै लोकतान्त्रि,प्रगतिशीलहरु र यो राष्ट्रको चिन्ता गर्नेहरु र राष्ट्र बचाउनुपर्छ भन्नेहरु एकठाउँमा आउनेदिन हो ।’ त्यस्तै उनले संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा रहेको बताउँदै संविधानमाथि पनि धेरै संकट मुर्झाएको धारणा राखे । आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौती भनेकै राज्यको गुमेको विश्वास फर्काउने रहेको उनको भनाई छ । 
 

प्रतिक्रिया