आईसोलेसनमा प्रधानमन्त्री, सरकारी निकाय उदासिन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पिसिआर पोजिटिव देखापरेपछि आइसोलेशनमा पसेका छन् । शनिबारदेखि उनीसँगको भेटघाट स्थगित गरिएको छ । 

प्रधानमन्त्री आईसोलेसनमा पसेपछि मन्त्रीपरिषदको बैठक बस्ने कि नबस्ने भन्ने बारेमा कुनै जानकारी दिईएको छैन । प्रधानमन्त्रीको नियमित काम स्थगित भएपछि कार्यबाहक पनि कसैले पाएका छैनन् ।

प्रधानमन्त्री देउवा शनिबार नै विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट्न बालकोट गएका थिए । 

सरकारका प्रवक्ता रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की समेत यही कारण आईसोलेसनमा पसेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होम आइसोलेशनमा बसेका हुन् । 

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीे सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी भएका थिए । उनले पीसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने जानकारी दिए ।

माओवादीका नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादीका महाधिवेशन भर्खरै सकिएका हुन् । देशभरबाट ठूलो संख्यामा भेला भएका प्रतिनिधिहरु पनि यसरी संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ ।

काठमाडौंको सार्वजनिक यातायात, भेला र भोजभतेरहरु सामान्य अवस्था जसरी नै सञ्चालन भैरहेको तर्फ सरकारले त्यति ध्यान दिएको देखिँदैन । कोरोना भाईरसको नयाँ संक्रमण फैलिँदै गरेको अवस्थामा समयमै यसलाई रोक्ने उपाय अवलम्वन नगरिए नियन्त्रण बाहिर जानसक्ने भनी चिन्ता जनाईएको छ ।
 

प्रतिक्रिया