काठमाडौं । गृह मन्त्रालयले यो जाडो याममा सबैभन्दा बढी हिमपात र शीतलहर हुने जिल्लाहरुको सूचि तयार गरी आकस्मिक उध्दारकार्यको तयारी थालेको छ । गृहको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो जाडो याममा २१ जिल्लामा शीतलहर र २८ जिल्लामा हिमपातको प्रभाव रहने पूर्वानुमान गरेको छ ।
हिमपात र शीतलहरबाट बढी प्रभावित हुने पूूर्वानुमान गरिएका जिल्लाहरुमा सम्भावित आकस्मिक उध्दार सेवाका लागि पूर्वतयारी तथा प्रतिकार्य राष्टिय कार्ययोजना पनि तयार गरिएको मन्त्रालयले जनाएको छ ।
कहाँ कहाँ हुने छ शीतलहर
कोशी प्रदेशका झापा, सुनसरी, मोरङमा बढी शितलहर हुने जनाईएको छ भने मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा र बागमति प्रदेशका चितवन पनि शितलहबाट प्रभावित हुने पूर्वानुमान छ । साथै गण्डकी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), लुम्बिीनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र सुदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर पनि शितलहरबाट प्रभावित हुने जिल्ला परेका छन् ।
यसैगरी शितलहरबाट कम प्रभावित हुने जिल्लाहरुमा कोशी प्रदेशको उदयपुर, बागमति प्रदेशको मकवानपुर, सिन्धुली र कर्णाली प्रदेशको सुर्खेत छन्। तराई मधेशका जिल्लाहरु मंसिरदेखि फागुनसम्म शीतलहरबाट प्रभाव हुनेगर्छन् । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगीहरु बढी प्रभावित हुने गरेका छन्। यस कार्ययोजनालाई आधार मानेर शीतलहर र हिमपातबाट प्रभावित हुने सबै प्रदेश, जिल्ला र स्थानीय तहबाट योजना बनाई कार्यान्वयन गरिने प्राधिकरणको योजना रहेको जनाईएको छ ।
गृहले शीतलहरबाट गरिबीको रेखामुनि रहेका जनसंख्या बढी प्रभावित हुने कार्ययोजनामा उल्लेख गरिएको छ।
हिमपातबाट प्रभावित कुनकुन जिल्ला प्रभावित
हिमपालबाट कोशी प्रदेशका ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, पाँचथर, ओखलढुङ्गा, भोजपुरको माथिल्लो क्षेत्र र बाकगमति प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, धादिङ प्रभावित हुने पूर्वानुमान छ । साथै गण्डकी प्रदेशका गोरखा, मनाङ, मुस्ताङ, बागलुङ, कास्की र लुम्बिनी प्रदेशका रुकुम पूर्व तथा कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोटमा पनि हिमपातले असर पार्ने छ । यसैगरी सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, दार्चुला, बैतडी र डडेल्धुराले पनि हिमपातबाट प्रभावित हुनुपर्ने छ।
अत्यधिक चिसोका कारण हाइपोथर्मिया, खोकी, निमोनिया हुन सक्ने र दीर्घरोगको असर बढ्न सक्ने कार्ययोजनामा उल्लेख गरिएको छ। प्रभावित जिल्लामा भारी हिमपातका कारण सडक तथा हवाई यातायात आंशिक तथा पूर्ण रुपमा बन्द हुन सक्ने, विद्युत प्रवाहमा अवरोध, संचार सम्पर्क अवरोध हुन सक्ने र पदयात्रा तथा पर्वतरोहण लगायतका पर्यटकीय गतिविधि प्रभावित हुन सक्ने बताइएको छ।
शीतलहर र हिमपातबाट प्रभावित हुने क्षेत्र तथा लक्षित वर्गको पहिचान गरी तथ्यांक अद्यावधिक एवं लाभग्राहीको प्राथमिकता निर्धारण गर्ने, विपद् तथा प्रतिकार्यका लागि पूर्वतयारी तथा पूर्वानुमान अनुसार पूर्वकार्य गरी क्षति न्यूनीकरण गर्ने लगायत रणनीति कार्ययोजनामा गृहले विस्तृतमा चर्चा गरेको छ ।
प्रतिक्रिया