काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाइ पक्राउ गरिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ ।
मंगलबार आयोगले विज्ञप्तिमार्फत कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन सरकारलाई निर्देशन समेत दिएको हो । विज्ञप्तिमा भनिएको छ,‘कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गर्दछ ।’
प्रसाईंलाई पक्राउ गरिएको घटनाको सम्बन्धमा आयोगले अनुगमन समेत गरेको छ । आजै आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी प्रसाईँ र सम्बन्धित प्रहरी अधिकारीहरुसँग भेट गरी जानकारी लिएको हो । प्रसाईंलाई आज राती १२.३० बजे निजको निवास सानो ठिमी, भक्तपुरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।
प्रतिक्रिया