रामेछाप । रामेछापका तल्लो भेगका किसानहरू अहिले धान भित्र्याउन व्यस्त छन् ।
यस अघि कात्तिकको वर्षाले खेतमा पानी जम्दा काटिएको धान बालीमा क्षति बेहोरेका किसान अहिले केही ढिलागरी काटेको धान भित्र्याउँदै छन् । जिल्लामा लगाइएको धान बाली भित्र्याउनेक्रम अन्तिम चरणमा पुगेको जिल्ला कृषि विकास कार्यालय रामेछापले जनाएको छ । कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालका अनुसार बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा करिब १३९ मेट्रिक टन धानबाली नष्ट भयो । यसबाट किसानलाई करिब ६० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको उनले बताए ।
सबैभन्दा बढी क्षति खाँडादेवी गाउँपालिकामा भएको छ । सो पालिकामा ६२ हेक्टर क्षेत्रमा लगाइएको धानमध्ये ११४ मेट्रिक टन बाली नष्ट भई किसानले ३५ लाख रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको दाहालले जानकारी दिए । त्यसैगरी लिखु तामाकोशी गाउँपालिकामा करिब २५ हेक्टर क्षेत्रफलमा बाली नष्ट भई २७ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालयले जनाएको छ। रामेछापमा कुल ८ हजार ६ सय १५ हेक्टर धान खेतीयोग्य जमिन रहेको छ । यस वर्ष सो क्षेत्रफलको करिब ९५ प्रतिशत जमिनमामा रोपाइँ सम्पन्न भएको थियो । जिल्लामा धानको औसत उत्पादकत्व प्रतिहेक्टर २ दशमलव १७ मेट्रिक टन रहेको कृषि विकास कार्यालयका तथ्याङ्कले देखाउँछ ।
प्रतिक्रिया