मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महशुस भएको बताएका छन् ।

आइतबार संवाद र सञ्चारमा स्वजागरण सम्बन्धी कार्यक्रममा बोल्दै उनले अहिले सरकारवादी भएपछि आफ्नो कित्ताकाट भएको महशुस गरेको बताएका हुन् । मन्त्री खरेलले भने, ‘म पत्रकार हुँदासम्म मेरो आकाश यति फराकिलो थियो, मेरा मान्छेहरू धेरै थिए । सबैले प्रशंसा गर्थे, राम्रो प्रश्न गरेको भनेर सोध्थे । तर मन्त्री भएपछि मेरो आकाश साँघुरिएको छ । अहिले त सरकारवादी भएछु । पहिला सबैको थिए, अहिले सरकार भएछु । मेरो कित्ताकाट भएको महशुस गरेको छु ।’

उनले मन्त्री बनेपछि आलोचनासमेत भोग्न थालेको बताए । कार्यक्रममा मन्त्री खरेलले व्यक्तिको आत्मपहिचान र भूमिकाप्रतिको स्पष्टता आवश्यक रहेको पनि बताए । उनले भने, ‘जब मैंले राजनीतिमा पाइला राखें, त्यतिबेला नै म तयार थिएँ, अब म सरकारमा जाँदैछु । मैंले सोचे जस्तो संसार मात्रै होइन, त्यो संसारभित्र म प्रवेश गर्दै छु भन्ने बुझिसकेको थिएँ । हामीमा ठूलो समस्या के छ भने हामी को हौं र के हुँ भन्ने कुरा रिलाइज गरेका छैनौं । त्यसैले हामी बढी दुःखी हुन्छौं । पहिला म को हुँ र मेरो भूमिका के हो भन्ने कुरा बुझ्न जरुरी छ ।’
 

प्रतिक्रिया