काठमाडौं । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी)को पहलमा ‘युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस’ आज विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।
सन् २००१ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउन सुरु गरिएको यस दिवसले युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने नकारात्मक असरप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्य मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले दिगो शान्ति स्थापनाका लागि वातावरणीय सुरक्षालाई अनिवार्य अङ्गका रूपमा नीति तथा रणनीतिमा समेट्दै आएको छ । विश्व संस्थाका अनुसार, जीविकाको आधार प्राकृतिक स्रोतसाधन र पारिस्थितिकीय प्रणालीको संरक्षणमार्फत मात्र दिगो शान्ति सम्भव छ ।
युद्धका क्रममा पानीका मुहानहरू प्रदूषित हुने, खेतीबाली डढाइने, वन विनाश हुने, माटो विषाक्त बन्ने र जनावरहरूको हत्या हुनेजस्ता गतिविधिले वातावरणमा ठुलो असर पार्ने तथ्यहरू विभिन्न अध्ययनले देखाएका छन् । युएनइपीका अनुसार, विगत ६ दशकमा भएका सबै आन्तरिक द्वन्द्वमध्ये करिब ४० प्रतिशतमा काठ, सुन, हीरा, तेल, उर्वर भूमि र पानीका स्रोतजस्ता प्राकृतिक सम्पदाको दुरुपयोग भएको छ ।
प्रतिक्रिया