बुवाको हत्यामा संलग्न छोरा पक्राउ

विराटनगर । पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापमा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

६९ वर्षीय युबराज राईको हत्यामा संलग्न उनका ३१ वर्षीय छोरा सन्देश राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्तिक १६ गते बिहान साढे १० बजे विवादको क्रममा रिसको आवेशमा सन्देशले काठको मुग्रोले बुबाको शरीरमा प्रहार गर्दा घटनास्थलमै युबराज राईको मृत्यु भएको थियो । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको टोलीले सन्देश राईलाई घटनास्थलमै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ भने हत्यामा संलग्न सन्देश राईमाथि आवश्यक कानूनी प्रक्रिया र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया