जनकपुरधाममा सामाचकेवा महोत्सव सम्पन्न

जनकपुर । जनकपुरधाममा सामाचकेवा महोत्सव २०८२ जनकपुरधाममा सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धनको उद्देश्यले जनकपुरधाममा मैथिली विकास कोषले विगतको वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ ।

आइतबार साँझ ऐतिहासिक जानकी मन्दिरको प्राङ्गणमा महोत्सवमा विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका १४ टिमका महिलाहरूले महोत्सवमा भाग लिएका थिए । उनीहरुले सामा गीत प्रस्तुत गर्दै परम्परागत नृत्य र गीत गायन गरेका थिए । कोषका अध्यक्ष जीवनाथ चौधरीले नयाँ पुस्तालाई सामा चकेवाको सांस्कृतिक महत्व बुझाउन र परम्परागत गीत र नृत्यलाई पुनर्जीवित गर्न महोत्सव आयोजना गरिएको बताए । उनले सामाचकेवा केवल पर्व मात्र नभइ मिथिला संस्कृतिको अमूल्य धरोहर रहेकोमा जोड दिए । सामाचकेवा पर्व मिथिलाञ्चल क्षेत्रमा मनाईन्छ । यो पर्वले दाजुभाइ र दिदी बहिनीबीचको सम्बन्धलाई सुदृढ बनाउँदै आएको छ ।

महोत्सवमा जानकी मन्दिरका महन्थ, जनकपुरधामका समाजसेवी, बुद्धिजिवी, साहित्यकार, सञ्चारकर्मी, विभिन्न संघ संस्थाका पदाधिकारीसहित जनकपुरवासीको भव्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया