दाउने सडकमा जामको समस्या अझै टरेन, यात्रुहरू सास्ती भोग्दै

काठमाडौं । दाउने खण्डको सडकमा जामको समस्या लामो समयदेखि निरन्तर रहँदै आएको छ ।

दैनिक सयौं सवारी साधन आवागमन हुने यो मुख्य राजमार्गमा ट्राफिक व्यवस्थापन कमजोर र सडक मर्मतको ढिलाइका कारण यात्रुहरूले ठूलो सास्ती भोग्दै आएका छन् । ‎धनगढीबाट काठमाडौंतर्फ यात्रा गरिरहेका कमल बोहराका अनुसार यहाँबाट गाडी समयमा छुटे पनि दाउने पुग्नेबित्तिकै घण्टौंसम्म जाममा बस्नुपर्छ । कहिलेकाहीँ ४ देखि ५ घण्टासम्म सवारी अड्किन्छन् । उनका अनुसार यात्रुहरूलाई समयमा गन्तव्य पुग्न कठिन भइरहेको छ । ‎सरकारले यो सडक खण्डमा ध्यान नदिँदा समस्या झन् गम्भीर बन्दै गएको उनको गुनासो छ । बोहराले भने, ‘सायद नेताहरूले पनि यो बाटो हिँड्ने गरेका भए सडक छिट्टै बनिसक्थ्यो होला, तर उनीहरू नहिँड्ने भएकै कारण निर्माण कार्य ढिलो र सुस्त भएको हो ।’

‎दाउने सडक अहिले पनि असमान, धुलाम्मे र संकुचित रहेको कारण सवारी जाम बढ्ने गरेको स्थानीयहरूको भनाइ छ । विशेषगरी मालबाहक ट्रकहरूको अत्यधिक चापले पनि आवागमन अवरुद्ध हुने गरेको छ । ‎स्थानीयले पटक पटक सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि ठोस पहल नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यात्रु र स्थानीय दुवैले सम्बन्धित निकायले तत्काल सडक मर्मत र ट्राफिक व्यवस्थापन सुधारका लागि कदम चाल्न माग गरेका छन् ।
 

प्रतिक्रिया