काठमाडौं । उद्योग वाणिज्य महासंघका वरिष्ठ अध्यक्ष अन्जन श्रेष्ठले जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि प्रहार भएको बताएका छन् ।
शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४६औं वार्षिक साधारण सभा तथा उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्रलाई सिधैँ व्यक्तिगत रुपमा प्रहारहरु गर्ने र छानि छानि व्यवसाय र घर आगजनी गर्ने काम भएको भन्दै सधैँ निजी क्षेत्रप्रति प्रहार किन हुन्छ भनेर सोच्ने बेला आएको बताए । उनले भने, ‘निजी क्षेत्रलाई सिधैँ व्यक्तिगत रुपमा नै प्रहारहरु पनि भयो । हाम्रो व्यवसायहरु जलाइएँ, छानि छानि घर घरमा गएर आगजनी गर्ने काम भयो । यो निजी क्षेत्रप्रति जुन प्रहार भयो नि त्यो सारै नै नराम्रो भएको छ । किन सधैँ निजी क्षेत्रप्रति प्रहार हुन्छ भन्ने प्रश्न पनि छ । यसबारे हामी सबैले सोच्नुपर्छ यसमा निजी क्षेत्रको पनि कतै कमजोरी छ कि र त्यो कमजोरीलाई सुधार पनि गर्नुपर्छ । यस तर्फ सोच्ने बेला पनि आएको छ ।’ साथै, उनले भ्रष्टाचारको विरुद्धमा हरेक जनताको मनमा रहेको आक्रोशलाई जेनजी भाई बहिनीहरुले उजागर गरेर एउटा आन्दोलनको रुपमा परिवर्तन ल्याएको भन्दै यस विषयमा ती भाई बहिनीहरुलाई नमन पनि गर्नुपर्ने बताए ।
उनले भने, ‘जेनजी युवाहरु एउटा परिवर्तनको संम्वाहक बनेर राज्यमा एउटा नयाँ परिवर्तन ल्याएको छ । त्यो परिवर्तन वास्तविक तपाईं हामी सबैको उकुस मुकुस पनि थियो । वेतिथि, बिसंगति पनि थियो । सबैलाई सुशासन छैन भन्ने थियो भ्रष्टाचार व्याप्त छ, व्यक्तिवादी छ भन्ने थियो । यो कुरा सबैको मनमा लुकेर बसेको थियो । जेनजी भाई बहिनीहरुले त्यसलाई उजागर गरेर एउटा आन्दोलनको रुपमा परिवर्तन ल्याएको छ । त्यसकारण ती भाई बहिनीहरुलाई हामीले नमन गर्नुपर्ने हुन्छ ।’ साथै, फागुनमा हुन लागेको निर्वाचन समयमा नै सम्पन्न गर्नको लागि सहज वातावरण बनाउनको लागि निजी क्षेत्रले पनि भूमिका खेल्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘अर्को कुरा निर्वाचन गर्ने भनेको छ । निर्वाचन समयमा नै हुनुपर्छ भन्ने कुरा हामीले राख्नुपर्छ भन्दा पनि निर्वाचन समयमा नै होस् भन्ने किसिमले वातावरण बनाउनको लागि हामीले पनि भूमिका खेल्नुपर्छ ।’
प्रतिक्रिया