हिलदेवीका ९० परिवार पहिरोको उच्च जोखिममा

रामेछाप । रामेछापको सुनापति गाउँपालिका–३ हिलदेवीका ७७ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । सो वडाका चार टोलका बासिन्दा पहिरोको उच्च जोखिममा परेका हुन् । 

गत असोज १७, १८ र १९ गतेको अविरल वर्षाका कारण बस्तीको मुनिबाट जमिन बग्न लागेपछि ती बस्ती जोखिममा परेका हुन् । गाउँपालिका उपाध्यक्ष गीता विष्टका अनुसार हिलेदेवीको केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका ७७ परिवार पहिरोको जोखिममा परेका छन् । निरन्तर खसिरहेको पहिरोका कारण कतिपय घर भत्किसकेका छन् भने धेरै घर चिराचिरा परेर ढल्ने अवस्थामा पुगेका छन् । बस्तीको जमिन दिनदिनै तलतिर सर्दै जाँदा स्थानीयका घर चर्कने र भत्कने क्रम सुरु भएको छ । 

घरहरू खानीखोलातर्फ बग्दै गएपछि गाउँपालिकाले पनि जोखिममा रहेका परिवारलाई राति बस्तीमा नबस्न आग्रह गरेको छ । तर वैकल्पिक बसोबासको व्यवस्था नहुँदा धेरै परिवार अझै जोखिममै बस्न बाध्य छन् । सुनापति गाउँपालिका–३ साउनेका स्थानीय राम श्रेष्ठका अनुसार खानी खोलाबाट सुरु भएको पहिरो अहिले सुनापति डाँडासम्म फैलिँदै गएको छ । ‘यो ठाउँ पहिले पनि पहिरो चलेको थियो, यस वर्षको पहिरोले जमिन कमजोर बनायो, वर्षाले जताततै पानीका मूल फुटेका छन्, जसका कारण जमिन बिस्तारै बग्न थालेको छ , जमिन बग्न थालेपछि गाउँका घर चर्किन र भत्कन लागेका छन्’, उनले भने ।   

सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टका अनुसार जोखिममा परेका बासिन्दालाई तत्काल राहत र अस्थायी पुनर्वासको व्यवस्था मिलाउन पहल सुरु गरिएको छ। ‘हामीले जोखिम क्षेत्रका परिवारहरूलाई सुरक्षित ठाउँमा सार्ने प्रक्रिया अघि बढाएका छौँ’, उनले भनिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठका अनुसार वडा अध्यक्ष कुलबहादुर थिङको नेतृत्वमा समिति गठन गरी जोखिमग्रस्त परिवारहरूको सूची तयार गरिएको छ। अब ती परिवारलाई राहत र बसाइसराइ दुवै व्यवस्था गर्न पालिका लागेको उनले जानकारी दिए ।
 

प्रतिक्रिया