सुर्खेत । फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश बिरामी परेका छन् । लेकवेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा विरामीको सख्या बढ्दै गएको छ ।
पछिल्लो एक हप्तामा यो समुदायका २५ जना विरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदामा बिरामीको संख्या बढ्दै गए पछि समस्या देखिएको छ । सुरुमा दुई जना बिरामीबाट सुरु भएको संक्रमण २५ जनामा फैलिएको राउटेकी उपचारमा खटिएका स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् । बस्तीमा बिरामी पर्ने राउटेको संख्या दिनहुँ बढ्दै गएको उनले बताइन् ।
बिरामीहरुलाई अत्यधिक ज्वरो आउने, खाना नखाने तथा आलस्य बढ्ने भए पछि बिरामी राउटेहरु थला परेका छन् । डेंगुलगायतका अन्य स्वास्थ्य परिक्षणमा मन नगर्ने राउटेहरुलाई प्राथमिक उपचारमा सिमित राख्नु परेको उनको भनाइ छ । ‘राउटे बस्तीमा ज्वरोको संक्रमण बढ्दो छ । २५ जनाभन्दा बढी बिरामी परेका छन्,’ स्वास्थ्यकर्मी पन्तले भनिन्, ‘तर राउटेहरू डेङ्गुलगायत रोग चेकजाँच गर्न मान्दैनन् । त्यसैले प्राथमिक उपचारमात्र गर्ने गरिएको छ ।’ अस्वस्थ जीवनशैली, मदिरा तथा सूर्तिजन्य पदार्थ सेवनका कारण राउटे समूदायका मानिसहरुमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या बल्झदै गएका छन् ।
राउटेहरु प्राय: कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान लगायतका पहाडी जिल्लाका वन क्षेत्रमा अस्थायी टहरा बनाएर बसोबास गर्छन् । राउटे समुदायको संख्या लगातार घटिरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनले पनि राउटे समुदायको संख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ । प्रतिवेदनमा २०७५ सालमा १४९ रहेको राउटेको जनसंख्या हाल घटेर १३७ जनामा झरेको छ ।
बस्तीमा असुरक्षित महसुस
समुदायमा त्रास बढेपछि राउटेले सुरक्षा माग गरेका छन् । पछिल्लो समय बाह्य व्यक्तिहरूको अनाधिकृत प्रवेशले राउटे समुदायले असुरक्षित महसुस गर्न थालेका हुन् । जंगलमा बस्दै आएका उनीहरूका बस्तीमा जथाभावी बाह्य व्यक्तिहरूको प्रवेशले असुरक्षित महसुस गरेको उनीहरूको भनाइ छ । विभिन्न बहानामा राउटे बस्तीमा जाने र त्यहाँ विभिन्न अवाञ्छित क्रियाकलाप गर्ने प्रवृत्ति बढेको हो । असोज २४ राति राउटे समुदायमा त्रास सिर्जना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले नियन्त्रणमा लिएका थिए ।
सुर्खेतको लेकबेशी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटेबस्तीमा छिरेका थिए । शनिबार बिहान ती समुदायका युवाहरूले नजिकैको प्रहरीलाई खबर गरी ती युवालाई प्रहरीको जिम्मा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार पक्राउ परेका लेकवेशी नगरपालिका स्थायी घर भएका उनीमाथी जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले राउटे बस्तीमा अनाधिकृतरुपमा प्रवेश गरेका उनीमाथि अनुसन्धान थालिएको बताए । पछिल्लो समय बाह्य व्यक्तिहरूको अनधिकृत प्रवेशले राउटे समुदाय असुरक्षित बन्दै गएको छ ।
प्रतिक्रिया