रामेछाप । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा हाट बजारमा तिहारको सामान किनबेच गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
तिहार नजिकिएसँगै रामेछापका प्रमुख हाटबजारहरूमा टीकाको रङ्ग, भाइमसला, टोपी, रुमाल, श्रृङ्गारका सामान किनबेच गर्नेको सङ्ख्या बढेको हो । सदरमुकाम मन्थलीमा लाग्ने सोमबारे हाटमा तिहारको सामान किनबेच गर्नेको निक्कै भिड देखिन्छ । सोमबारको हाटको मुख्य आकर्षण र जमघट नै तिहारका सामान किनबेचमा थियो । सोमबारे हाटमा तिहारको सामान बेच्न आएका व्यापारी रामगोपाल साहले अब हाटबजारमा तिहारको सामानको किनबेच सुरु भएको बताए । यो हप्तैभरि सबै हाटबजारमा तिहारको सामानको किनबेच हुने उनले सुनाए ।
तिहारको सामान बिक्री गर्ने व्यापारीहरू हप्तैभरी रामेछाप र दोलखाका विभिन्न हाटबजारमा पुग्ने उनले जानकारी दिए । सोमबारको मन्थलीको हाट सकेपछि मंगलबार मन्थलीकै फुलासीको हाट, बुधबार लिखु तामाकोशीको धोबी हाट, बिहीबार रामेछाप नगरपालिकाको रामेछाप बजारको हाट, शनिबार रामेछाप र ओखलढुङ्गाको सिमानामा रहेको साँघुटार, शुक्रबार छौँडेको हाट र अर्को सोमबार पुन मन्थलीको हाट भ्याउन आउने उनले बताए । आउने सोमबार मन्थलीको तिहारको अन्तिम हाट भएकाले निक्कै राम्रो व्यापार हुने रामगोपालको अनुमान छ ।
त्यसो त बजारमा पनि तिहारका सामानहरू पाइन्छन् । तर हाटमा तिहारको सामान बजारको भन्दा सस्तोमा पाइन्छ भन्ने परम्परागत मान्यताको कारण हाटमा सामान किन्नेहरूको भिड लाग्ने गर्दछ । हाटमा प्रशस्त ग्राहकहरू आउने भएकाले व्यापारी पनि सामान बेच्न हाटमा नै पुग्ने गर्दछन् ।
प्रतिक्रिया