सर्लाही । सिरहाका विभिन्न स्थानमा छापा मार्दै प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार शनिबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोलबजार नगरपालिका–६, दुर्गा मन्दिर नजिकैबाट गुम्बा चोकतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ३०२६ नम्बरको मोटरसाइकललाई रोकी तलासी लिँदा सवार दुई जनाको साथमा खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो । बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकसहित १७.५४ ग्राम र शुद्ध रूपमा १५ ग्राम रहेको प्रहरीले जनाएको छ । यस घटनामा गोलबजार नगरपालिका – ७ का २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका–७ का २४ वर्षीय विष्णुदेव यादवलाई पक्राउ गरिएको छ । उनीहरू सवार मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पालले बताए ।
त्यसैगरी सोही रात करिब ९ बजे इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका–१७, पटेर्वा गाउँ नजिकै नेपाल–भारत सीमातर्फ लागुऔषध (गाँजा) लैजाँदै गरेको समूहलाई देखेपछि पक्राउ प्रयास गरेको थियो । प्रहरी देख्नेबित्तिकै उनीहरूले झोला फालेर भागेका थिए ।
घटनास्थलमा छोडिएको झोलाबाट ६४.९ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । भाग्ने क्रममा भारत बिहार राज्य, मधुबनी जिल्लाका ५५ वर्षीय श्रीचन मण्डललाई नियन्त्रणमा लिइएको र बाँकी फरारहरूको खोजी जारी रहेको डीएसपी पालले जानकारी दिए । प्रहरीका अनुसार दुवै घटनाका अभियुक्तमाथि लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही अघि बढाइएको छ ।
प्रतिक्रिया