जनकपुर । तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशका कुमाल समुदाय अहिले माटोका परम्परागत दियो (दियौरी) बनाउन दिनरात व्यस्त भएका छन् ।
वर्षभरि खेतीपाती र अन्य काममा व्यस्त रहने कुमालहरूका लागि यो समय वर्षकै सबैभन्दा सक्रिय र आम्दानी हुने समय हो। जनकपुरधाम, मटिहानी, सिरहा, बर्दिवास, मलंगवा लगायतका सहर तथा ग्रामीण बस्तीहरूमा कुमाल समुदायका मानिसहरू परम्परागत तरिकाले हातले घुमाउने चरखा प्रयोग गरी माटोका दियो तयार पारिरहेका छन् । यी दियोहरू घर–घरमा तिहारको बेलुकी दिप प्रज्वलनका लागि प्रयोग गरिन्छ ।
कुमाल समुदायका शिल्पीहरूले दियो बनाउने काम असोज महिना लागेदेखिनै गर्न सुरु गर्छन । माटो संकलन, दियो बनाउने, सुकाउने र पकाउने गरी प्रक्रिया पूरा गर्न करिब ७–१० दिन लाग्छ । आधुनिक बत्ती र प्लास्टिकका सजावटका सामानले परम्परागत दियोको बजार केही हदसम्म प्रभावित पारे पनि तिहारमा दियो बाल्ने परम्परा अझै मजबुत रूपमा जोगिएको कुमालहरू बताउँछन् । कुमाल समुदायका महिलाहरूले पनि माटो तयार पार्ने, दियो सुकाउने र बजारमा बिक्रीमा लैजाने काममा सक्रिय भूमिका खेल्ने गर्छन् । तिहार नजिकिँदै गर्दा बजारमा माटोका दियोका भरिभराउ थुप्रा सजिन थालेका छन् भने स्थानीय बासिन्दाहरूले अग्रिम खरिद गर्न थालेका छन् ।
प्रतिक्रिया