काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भंग गर्ने र लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बनेको आरोप लगाएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार बलमिच्याइंर्बले बनेको भन्दै संसद भंग गर्ने पूर्वसर्त राखेर कार्की प्रधानमन्त्री बनेको आरोप लगाएका हुन् ।
उनले भने,‘अहिले देशमा सरकार छ । तर संविधान अनुसार बनेको छैन । बलमिच्याईंले बनेको सरकार छ । अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नको लागि सर्त राख्नुभयो । तुरुन्तै सपथग्रहण गरेर तुरुन्तै संसद भंग गर्ने सिफारिस गर्छु त्यो लागू गर्नुपर्छ र संसद भंग गर्ने भए मात्रै प्रधानमन्त्री हुन्छु नत्र देशमा जेनजीले आगो बाल्छ भन्नुभयो । संसद भंग गर्ने पूर्वसर्त राखेर सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य र लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो ।’
त्यस्तै उनले अहिले देश र देशको सार्वभौमसत्तामाथि हमला भइरहेको धारणा राखे । अर्थतन्त्र बलियो होला भन्ने चिन्ताले हमला भइरहेको उनको ठम्याई छ ।
‘देश र देशको सार्वभौमसत्तामाथि हमला छ । देशको भौगोलिकता माथि हमला छ । देशको अर्थतन्त्र बलियो होला भन्ने चिन्ता छ कसैलाई, त्यसकारण पनि हमला भइरहेको छ,’ उनले भने । नेपाल न्यूज बैंक
प्रतिक्रिया