जेनजी एलायन्सले माग्यो अख्तियार प्रमुख राई सहित सबै आयुक्तको राजीनामा

काठमाडौं । विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै आज मंगलबार टंगालस्थित अख्तियार मुख्यालयमा औपचारिक लिखित पत्र बुझाएको छ ।

अलायन्सले हिजो मात्र प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेकोमा आज भौतिक उपस्थितिमै दबाब बढाउँदै लिखित पत्र दर्ता गराएको हो ।

prem-rai-1समूहका नेता रिजन राना (आदित्य) ले राजीनामा नआए अन्य संघर्षका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

अलायन्सले अख्तियार प्रमुख र आयुक्तहरूको राजीनामा माग गर्नुका मुख्य कारणहरू-

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइबिना नियुक्ति गरेको आरोप लगाउँदै उनीहरूले आयोगको स्वतन्त्रता र विश्वसनीयता गुमाएको दाबी ।

विशेष अदालतको हालसालैको निर्णयलाई उद्धृत गर्दै प्रमुख आयुक्त राईमाथि ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’ को टिप्पणी आएको उल्लेख ।

नेपाल आयल निगमको जग्गा खरिद, नक्कली भुटानी शरणार्थी र वाइडबडी विमान खरिद जस्ता ठूला भ्रष्टाचार प्रकरणहरूमा प्रमुख आयुक्तको नाम जोडिएको भन्दै नैतिक जिम्मेवारीस्वरूप राजीनामा माग ।

संघीय संसद् नभएकाले महाअभियोगमार्फत पदमुक्त गर्न सम्भव नभएको अवस्थामा राजीनामाबाटै अख्तियारको गरिमा पुनःस्थापना गर्नुपर्ने समूहको भनाइ छ । हाल जेनजी मुभमेन्ट अलायन्समा ३९ वटा जिल्लाबाट प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूह आवद्ध छन् ।

प्रतिक्रिया