जेन–जी आन्दोलनका शहीदकोे हृदयविदारक कथा

समुन्नत नेपाल बनाउन चाहने पवित्र आत्माहरू

भदौ २३ गते, जेन–जी आन्दोलन चर्किंदै थियो। बेलुकासम्ममा कम्तीमा १९ जनाको ज्यान गयो। तीमध्ये २० वर्षीय एक युवकको सहादत भएको हृदयविदारक प्रतिनिधि घटना प्रस्तुत गरेको छु।

दुई साथी वानेश्वरस्थित संसद् भवनको दक्षिण गेटबाट केही पूर्वतर्फ शान्तिरनगरनजिकै जेब्राक्रसमा हतारले बाटो काट्दै थिए। सडकको उत्तर किनारातर्फ भिड बढेपछि सुरक्षित हुन दक्षिण किनारातर्फ जाँदै गर्दा कानको जाली फुट्लाजस्तो गरी गोली पड्केको आवाज आयो।

समवयी अनुज परियारले पछाडि फर्केर हेरे। सँगै रहेका साथी माधव सारुमगर जेब्राक्रसमै ढलेछन्। पेटको तल्लो भाग रगतपच्छे भइसकेछ। जेब्राक्रसको सेतोपट्टी पनि रातो भइसकेछ। 

गोली पड्किनासाथ भिड तितिरबितर भयो। पूर्वतर्फबाट हुइँकिँदै एउटा स्कुटी आयो। गोली लागेर बीच बाटोमा मान्छे ढलेको देखेपछि चालकले स्कुटी रोके। अनुजले माधवलाई जुरुक्कै बोके। स्कुटीको पछाडि बसे। अचेत अवस्थाका माधवलाई आफ्नो शरीरले आड दिएर कसैगरी थामे। चालक युवाले स्कुटी हुइँक्याएर नजिकैको सिभल अस्पतालमा पुर्‍याए।

स्कुटी चढाएपछि अनुजले माधवका गालामा प्याटप्याट पार्दै ‘माधव ! बोल, बोल, माधव बोल’ भनिरहे। 

माधव बोलेनन्। स्कुटी चालकले ‘मुखमा बिस्तारै चार वटा औंला छिराइदेऊ भाइ’ भने। अनुजले त्यसै गरे, ‘बोल माधव ! बोल’ भनिरहे। फेरि पनि माधव बोलेनन्। उनले लामो लामो स्याँ !!! स्याँ !!! मात्रै गरे।

अस्पतालमा भिड बढेको थियो। पेटीमा पुर्‍याएर माधवलाई लम्पसार सुताए। भित्र प्रवेश पाएनन्। होहल्ला भयो। घाइतेलाई भित्र लैजान माग भयो। करिब १० मिनेट घाइते माधव अस्तपालको पेटीमै रहे। त्यही समय अनुजले थाहा पाए। माधवको दायाँ कोखाबाट पसेको गोली बायाँतिर निस्केको रहेछ। शरीर रगतको आहालमा थियो।

निकै मुस्किलले उनी इमर्जेन्सीमा पुर्‍याइए। अनुजले बाहिरै बस्ने आदेश पाए। करिब १० मिनेटपछि माधवको मृत्यु भएको खबर लिएर एक जना नर्स आइन्।

माधव कहिल्यै नबोल्ने गरी अस्ताए।

अनुज एक्लै थिए। उनको होसहवास उड्यो। किंकर्तव्यविमूढ भए। रुन आवाज पनि निस्केन। कसैलाई पनि माधवको मृत्युको खबर गर्न सकेनन्। त्यो सोमबार अनुज र माधव जेन–जी अन्दोलनमा जान भनेरै शान्तिनगरबाट मूल सडकमा पुगेका थिए। शान्तिनगरमा उनीहरू एक जना आन्टीका घरबाट नस्केका थिए।

अनुजले आन्टीलाई खबर गरे, गोली लाग्यो भने तर मृत्यु भयो भनेर सुनाएनन्। किन सुनाएनन् त ? उनले भने, ‘मैले भन्नै सकिनँ। गोली लागेको छ, अस्पतालमा छौं मात्रै भनें।’

केही बेरमा आन्टी आइपुगिन्। होसियारीपूर्वक केही आफन्तजनलाई खबर गरे। आफ्ना दुई जना साथी पनि बोलाए। रगतपच्छे माधवलाई सडकबाट उठाएर अस्पताल पुर्‍याउने अनुजको मनमा उदासिताका रेखा प्रष्ट थिए।

मसँगको भेटमा उनले भने, ‘सोच्दै नसोचेको घटना भयो। हामीलाई स्कुटीमा राखेर अस्पताल पुर्‍याउने मान्छे कस्ता थिए, ती को थिए भन्ने पनि थाहा छैन।’

गोली लागेर साथी बितेकोमा उनको मनमा असीम पीडा छ, त्यो भन्दा बढी पीडा १० मिनेटसम्म अस्पतालको पेटीमा पर्खिनु परेकोमा छ।

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–४, धारापानी, फलामखिलीमा २०६२ साल माघ ५ गते आमाबुबाका जेठा सन्तान भएर जन्मेका माधवले गाउँकै स्कुलबाट कक्षा १० ९एसइई० उत्तीर्ण गरे। पढाइमा औसतभन्दा माथि थिए।

एसइई उत्तीर्ण भएपछि बुटवलको एक स्कुलमा ११ कक्षामा भर्ना भए। उनको पढाइ खर्च कतारमा रहेका बुबा चन्द्रबहादुर पठाउँथे। आमा मधु गाउँमै अरू दुई सन्तानका साथ बस्थिन्। धनको सुख नभए पनि दुई छोरा र एक छोरीका साथ आमाबाबु मनका सुखी थिए।

माधवका भाइ नौ कक्षामा पढ्दै छन्, बहिनी पाँच कक्षामा छिन्। माधव स्नातक तह पढाइको तयारीमा थिए।

उनी बुटवलबाट काठमाडौं आएको तीन महिना मात्र भएको थियो। गाउँकै साथीहरू प्रकाश रेश्मीमगर र सुशील रेश्मीमगरका साथ डेरामा बस्थे।

खासमा माधव केही कमाइका लागि विदेश जाने सोचले काठमाडौं आएका थिए। यहाँ आएपछि साथीहरूसँगको विमर्शमा विदेश जाने सोच त्यागेर सामान डेलिभरिको काममा लागेका थिए।

प्रकाश र सुशीलले डेलिभरिको कामबाट पनि राम्रो कमाइ हुन्छ, काठमाडौंमै कमाउँदै पढ्न सकिन्छ भनेपछि माधवले एउटा साइकल किनेर काम सुरु गरेका थिए। साथीले भनेको ठिक रहेछ भन्नेमा विश्वास जागेको थियो।

त्यही विश्वासअनुसार उनले विदेश जाने विचार त्यागेका थिए। नत्यागेका भए सम्भवतः भदौ २३ गतेअघि नै कतार पुगिसकेका हुने थिए।

बुबा चन्द्रबहादुर पनि छोराले काम गर्दै पढ्ने निर्णय गरेकोमा प्रशन्न थिए। उता घरमा रहेकी आमा मधुको मन पनि ढुक्क थियो।

उनीहरूको सम्पत्तिका नाममा फलामखिलीमा सानो गाउँले घर र थोरै बारी मात्रै छ। बारीमा मकै, गहुँ र तोरी फल्छ। फलेको जति सबै गहुँ र  मकै खाँदा मुस्किलले आधा वर्ष टर्छ। सबै तोरी पेल्दा तीनचार महिनालाई पुग्ने तेल आउँछ।

मधु बाख्रा पाल्छिन्, धेरै होइन, पाँचसात वटा। तिनकै पाठापाठी बेचेर घरखर्च पुर्‍याउँछिन्।

छोराछोरी हुँर्किंदै गए। तिनलाई पढाउनु पर्‍यो। जमानाअनुसारको थोरैतिनो सुविधा पनि दिनु पर्‍यो। लुगाफाटा पनि राम्रै दिनु पर्‍यो। स्कुलको पोसाक चाहियो। बिरामी पर्दा उपचार खर्च चाहियो।

गाउँको कमाइले के हुन्थ्यो र !

चन्द्रबहादुर सन् २०१७ मा कतार गए। त्यहाँ एउटा रेन्टुरेन्टमा काम गर्थे। कमाइ धेरै नभए पनि सन्तोषजनक थियो। वर्षमा एकपटक घर आउँथे। करिब एक महिना गाउँघरमा बिताएर फर्किन्थे। छोरोछोरीको सबै खर्च उनकै कमाइले टरेको थियो।

त्यति गर्दा पनि झन्डै तीन लाख रुपैयाँ ऋण छ। कतार जान पनि ऋण नै गरेका थिए। कतारमा करिब दुई वर्षको कमाइ काम चलाउमात्रै हुँदा ऋण चुक्ता हुन सकेन।

माधवले आमाबुबा दुबै जनालाई अब बिए ९स्नातक तह० पढ्न बुबाले पैसा पठाउनु पर्दैन भनेर ढुक्क पारेका थिए। अब सबै ऋण तिर्नुपर्छ भनेका थिए। एसइई पास भएपछि भाइलाई पनि काठमाडौं लैजान्छु भनेका थिए।

यसरी आमाबाबुलाई ढुक्क पारेको छोरो आन्दोलनमा गोली लागेर मरेको खबर आउँछ भन्ने उनीहरूको कुन कल्पनाका थियो होला र ! आखिर त्यही खबर आयो। घटनाको भोलिपल्ट साढे ११ बजे चन्द्रबहादुर कतारबाट काठमाडौं आइपुगे। आकाशबाटै देखे, सिंगो सहर धुवाँले छोपिएको छ। सडकमा गाडी गुडेका छैनन्।

छोराको मृत्युले जलेको मन लिएर विमानस्थलबाट चक्रपथमा निस्के। त्यहाँबाट कतै जाने उपाय थिएन। कसोकसो नजिकैको एउटा गेस्ट हाउसमा बास पाए। आँसुको भेलमा डुबेकी मधु ठाउँठाउँमा गाडी फेर्दै अर्को दिन गाउँबाट आइपुगिन्। बिहीबार उनीहरूको भेट भयो। भेटमा के हुनु थियो र१ एकअर्काका आँसुको भेलमा डुबे। साथमा रहेका आफन्तजन र माधवका साथीहरूको पनि मन थामिएन।

हुनु–नहुनु भइसकेको थियो। चद्रबहादुर सह्मालिए, पत्नी मुधलाई पनि कसैगरी सह्माले। आफन्तहरूले सम्झाए– माधव देशका लागि मरेको हो, उसको जीवनमा यस्तै लेखेको रहेछ, सरकार ढल्यो, अब कहिल्यै पनि कसैका छोराछोरी यसरी मर्नु नपरोस् भन्ने कामना गरौं।

महाराजगन्ज शिक्षण अस्पताल रहेको छोराको शव पाउने प्रतिक्षामा रहेका ३९ वर्षीय चन्द्रबहादुरले भदौ २९ गते आइतबार  अपराह्न शुष्क स्वरमा मसँग भने, ‘छोराछोरीकै लागि भनेर कतार गएको सात वर्ष भयो। हुर्केको छोरो मारियो। अब म के गरूँ, केही सोच्न सकेको छैन।’

शोकमा डुबेकी मधु मौन थिइन्। चन्द्रबहादुर र साथमा रहेका आफन्त तथा छरछिमेकीसँग भएको मैले गरेको संवाद सुनिरहिन्। उनीहरू ललितपुको कुपण्डोलस्थित गुरुद्वारा परिसरमा भेटिएका थिए।

मैले आँट गरें– देशमा ठूलो आन्दोलन भयो, तपाईंका छोराजस्ता धेरै छोराछोरी मारिए, यस्तो बेला तपाईंलाई म के सोधूँ र ! तै पनि केही भन्नुहुन्छ कि !

‘के भन्नु र ! देशमा शान्ति होओस्। अब कसैका छोराछोरी नमरून्। हामीजसरी अरू रुनु नपरोस्,’ उदास स्वरमा मधुले भनिन्, ‘म कमाउँछु, भाइबहिनी पढाउँछु, चिन्ता नगर्नू भन्थ्यो‘।’

मधुको गला अवरुद्ध भयो, आवाज रोकियो।

उनीहरूले सोमबार बिहान छोराको शव प्राप्त गरे। काठमाडौंमा रहेका आफन्तजन, छरछिमेकी र चिनारु जम्मा भएर पशुपति आर्यघाटमा दाहसंस्कार पूरा गरे।

सबै जना मिलेर त्यसै दिन अपराह्न दुई बजे चन्द्र–मधु दम्पतीलाई गाउँ पठाए। 

दुई दिनको आन्दोलनमा मारिनेको संख्या ७० नाघेको छ। माधव एक प्रतिनिधि पात्र हुन्। 

समुन्नत नेपाल बनाउने पवित्र विचारले आन्दोलनमा होमिएर सहादत प्राप्त गर्ने समस्त सपुतहरूको आत्माले शान्ति पाओस्। उनीहरू खोजेको ‘समुन्नत नेपाल’ बन्न सकोस्।

आशा गरौं यस प्रकारको हृदयविदारक घटना अब कहिल्यै हुनेछैन।

(मुमुक्षु गोविन्दको फेसबूक वालबाट साभार फेसबूकवालबाट साभार)

प्रतिक्रिया