देउवालाई राजनीतिको र पनि उच्चारण नगर्न शुभेच्छुकको सल्लाह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाका एकजना शुभचिन्तकले उनीमाथि भएको आक्रमणबाट आफू खिन्न भएको बताउँदै अब राजनीतिलाई चटक्क परित्याग गर्न सुझाव दिएका छन् । कुनैबेला देउवालाई भात पकाएर ख्वाएको र रत्नपार्कमा सँगसँगै समोसा चिया खाएको सम्झँदै खेम शर्मा पौडेलले देउवालाई राजनीतिबाट अलग हुन सुझाएका हुन् ।

उनले आफ्नो फेसबूक वालमा यस्तो लेखेका छन्-

शेर बहादुर दाईलाई ३०/३२ सालतीर मेरा स्वर्गवासी दाजु याम शर्मा पौडेलको टेवहालको सानो कोठामा सिल्टेको कसौंडीमा १/२ पटक भात पकाएर खुवाएको याद छ।  त्यसपछि पनि रत्नपार्कको मिष्ठान्न भण्डारमा यदाकदा चिया/समोसा चल्थ्यो। म भारतमा छात्रवृतिमा पढें ४ बर्ष र ३५/३६ देखि जागिर खाएको हुँदा चिया समोसा खान अभाव थिएन। रामचन्द्र दाईसंग त झन् गहिरो संबन्ध पो थियो धेरै पछिसम्म। राजनीतिमा उहाँहरुको चरम उदय पश्चात हामी जस्तासंग संपर्क हुने कुरै भएन। तथापी खुब घचघचाईयो, चाटुकार भईएन।

अस्ती दाई भाउज्युलाई लछारपछार गरेको देख्दा एक प्रकारले मन खिन्न पनि भयो। पछि कोठाका कोठा पैसा पनि देखियो। के रहेछ त त्यो पैसाको काम। त्यो बेला सिल्टेका थालमा खाएको भात अहिले सुनको थालमा खाए भन्दा लाखौं गुणा स्वादिष्ठ थियो होला।

सिघ्र स्वास्थलाभको कामना छ दाई। ८२ बर्षको उमेरमा यस्तो पीडा कसैलाई नपरोस्। अब राजनीतिको 'र' पनि उच्चारण नगर्नु होला।

ॐ शान्ति!!!

(स्वास्थ्योपचार गराईरहेका देउवाको तस्बिर पनि उनकै वालबाट साभार)

प्रतिक्रिया