‘प्रहरी दमन मानवअधिकारको गम्भीर उल्लंघन’ विरुध्द कानून समाज

काठमाडौँ। नेपाल कानुन समाजले काठमाडौंमा जेन-जी लगायतका समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा गरिएको हस्तक्षेपको घोर निन्दा गरेको छ। समाजका अनुसार उक्त घटनाले मानवअधिकारको गम्भीर उल्लंघन गरेको र यो लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको ठहर गरिएको छ।

समाजले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउनु नागरिकको संवैधानिक अधिकार भएको र राज्यले यो अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघीय कानुन कार्यान्वयन निकाय र नेपालको आफ्नै कानुनअनुसार पनि शान्तिपूर्ण प्रदर्शनमा हातहतियार र बल प्रयोग गर्नु अमानवीय र गैरकानुनी कार्य हो।’

समाजले प्रदर्शनकारीमाथि भएको लाठीचार्ज र दमनप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विज्ञप्तिमा घटनाको निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरिएको छ। छानबिनले दोषी ठहरिएका व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने र घाइतेहरूलाई उचित उपचार तथा क्षतिपूर्तिको व्यवस्था मिलाउनुपर्नेमा पनि जोड दिइएको छ।

यस घटनाले नेपालको राजनीतिक स्थिरता र सामाजिक सद्भावमा गम्भीर प्रश्नहरू खडा गरेको समाजको ठहर छ। कानुन समाजका अनुसार यस्ता घटनाले नागरिक र राज्यबीचको विश्वासमा कमी ल्याउन सक्ने जोखिम बढाएको छ। समाजले भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि राजनीतिक संवाद र सहमतिलाई मात्रै समस्या समाधानको दिगो उपाय मान्न सबै पक्षलाई आग्रह गरेको छ।

विज्ञप्तिमा शान्तिपूर्ण रूपमा आफ्ना विचारहरू राख्ने नागरिकको अधिकारको सम्मान गर्दै राज्यका निकायहरूले पनि संयम अपनाउनु पर्ने र प्रहरी प्रशासनले आफ्नो कार्यशैलीमा सुधार ल्याउनु पर्ने आवश्यकता रहेको औंल्याइएको छ।

प्रतिक्रिया