हाइड्रो कम्पनीको शेयर लगानीमा ठगी: पूर्व प्रधानमन्त्री बाबुराम र ब्ल्यू डायमण्ड सोसाईटीको कनेक्सन के हो ?

काठमाडौं । रसुवा र धादिङ जिल्लाको सिमानामा अवस्थित अपर मैलुङ खोलामा निर्माणाधीन ६.४२ मेगावाट क्षमताको अपर मैलुङ खोला ‘ए’ जलविद्युत आयोजनामा शेयर लगानी गर्दा आफूहरु ठगिएको आरोप यौनिक तथा अल्पसंख्यक समुदायका सदस्यहरुले लगाएका छन् ।

उनीहरुले ब्लु डाइमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष पिंकी गुरुङ (संजिव) र अपर मैलुङ हाइड्रो पावर कम्पनीमाथि यस्तो आरोप लगाएका हुन् । सोसाइटीका सदस्यहरुले हाइड्रोपावरमा शेयर लगानी गरिदिने भन्दै गुरुङले समूदायका व्यक्तिहरुमार्फत रकम उठाएर हिनामिना गरेको आरोप लगाएका छन् ।

सोसाइटीका तीन सदस्यले गुरुङमाथि ठगीको आरोप लगाएका हुन् । तत्कालीन अध्यक्षको समन्वयमा प्रवद्र्धक कम्पनीसँगको छलफलपछि हाइड्रोपावरमा शेयर लगानी गरेवापत राम्रो मुनाफा आउँछ भनेकाले आफूहरुले त्यसमा लगानी गरेपनि हालसम्म कुनैपनि मुनाफा नपाएको बताएका छन् ।

पीडित पक्षको प्रतिनिधित्व गर्दै ब्लु डाइमण्ड सोसाइटीका संस्थापक अध्यक्ष सुनिलबाबु पन्तले विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडमार्फत इनर्जी इन्जिनियरिङ लिमिटेड प्रर्वद्धक रहेको अपर मैलुङ खोला ‘ए’ जलविद्युत आयोजनामा शेयर लगानी गरिदिने भन्दै सोसाइटीका सदस्यहरुसँग तत्कालीन अध्यक्ष गुरुङको सल्लाहमा रकम उठाएको र दुरुपयोग भएको आशंका व्यक्त गरे ।

गुरुङले सदस्यहरुमार्फत उठाएको उक्त रकम हाइड्रो पावर कम्पनीको शेयरमा लगानी गरिदिएको भनिएपनि कतिपयलाई प्रमाण पत्र नै नदिएको र प्रमाण पत्र पाएकाहरुकोमा पनि कम्पनीको अध्यक्षको हस्ताक्षर नभएकाले रकम हिनामिना भएको हुनसक्ने उनले बताए ।

पन्तले उपलब्ध गराएको विवरण अनुसार सोसाइटीका एक सदस्यले इनर्जी इन्जीनियरिङ कम्पनीको ४०० कित्ता संस्थापक शेयर खरिद गरेको देखिन्छ । उक्त शेयर खरिद गरेबापत ती सदस्यले कम्पनीलाई ४० हजार रुपैयाँ बुझाएका छन् । तर कम्पनीले रकम बुझेको उक्त प्रमाण पत्रमा अध्यक्षको हस्ताक्षर देखिएको छैन ।

यस हिसाबले उक्त हाइड्रो पावर कम्पनी नक्कली भएको हुनसक्ने पन्तको दाबी छ । उक्त रकम वास्तविक रुपमा जलविद्युत आयोजनामा लगानी भएको हो वा होइन भन्ने कुराको यकिन नभएकाले समूदायका व्यक्तिहरुको रकम हिनामिना भएको हुनसक्ने पन्तको बुझाइ छ ।

सोसाइटीकी तत्कालीन अध्यक्ष गुरुङले भने समूदायका व्यक्तिहरुसँगै आफुले पनि व्यक्तिगत रुपमा १ लाख १० हजार रुपैयाँ उक्त हाइड्रोपावरको शेयरमा लगानी गरेको बताएकी छन् ।

‘यदि मेरो समूदायका साथीहरुको लगानी डुबेमा मेरो पनि डुब्ने होला । नक्कली कम्पनी भएको भए मैले किन आफूपनि जोखिममा बसेर लगानी गर्दथें । म पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आवद्ध हुँदा उहाँकै सल्लाहमा उक्त हाइड्रो पावरमा संस्थाका करिब ४० जना सदस्यहरुसहित मेरो समेत गरेर करिब १८ देखि २० लाख रुपैयाँ लगानी भएको हो,’ उनले भनिन् । यहि विषयमा पीडितहरुले कम्पनी विरुद्ध नभइ गुरुङ बिरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गराएको बताएका छन् ।

करिब सात वर्षअघि नयाँ शक्ति पार्टीमा आवद्ध भइ प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार समेत बनेकी गुरुङले रसुवाका युवा नेता प्रेम तामाङको प्रस्तावमा विवेकशील संस्थामार्फत समूदायका व्यक्तिहरुसँग सामूहिक छलफल गरेर आर्थिक उपार्जनका लागि हाइड्रो पावरको शेयरमा लगानी गरिएको बताइन् । आफूलाई हाइड्रो पावरको शेयरमा लगानी गर्ने बारेमा खासै जानकारी नभएको बताउँदै उनले पार्टी अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको समेत सुझाबमा यस्तो कदम लिएको बताइन् ।

उनको संस्थाका सदस्यहरुबाट जम्मा भएको रकम जमलस्थित बिभोर बैंकमा रहेको हाइड्रोपावरको खातामा जम्मा गरेको र सात वर्ष बितिसक्दा पनि परियोजना अगाडि बढ्न नसक्दा शेयर प्रमाणपत्र नदिएको भन्दै केही व्यक्तिहरुले आफूमाथि शंका व्यक्त गर्दै ठगीको आरोप लगाएको उनको दाबी छ ।

‘साथीहरुलाई सानो भएपनि सहयोग पुगोस्, भविष्यमा आर्थिक रुपले राम्रो होस भनि पवित्र उद्देश्यले प्रोत्साहित गरेको हुँ । सोसाइटीमा रोजगारीमा रहेका सदस्यहरुबीच साझा सहमतिमा लगानी भएको हो । तर अहिले निहित स्वार्थी व्यक्तिहरुको उक्साहटमा समूदायभित्रै फाटो ल्याउनेगरी मुद्दा मामिला गरिरहनुभएको छ । पैसा उठाएको एवम दुरुपयोग गरेको लिखित र सबुद प्रमाणविना दौडिरहनुभएको छ । अर्थात आपसी सल्लाह बमोजिम असन्तुष्टिहरुको सम्बोधन हुने प्रशस्त आधारहरु हुँदाहुँदै कुनै व्यक्तिको लहडमा मेरो प्रतिष्ठा र इज्जतलाई धमिल्याउने प्रयास भइरहेको छ । यसले समाधान दिंदैन,’ गुरुङले भनिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित पक्षले ठाडो उजुरी दिएको र सोमबार प्रहरी, पीडित पक्ष र हाइड्रो पावर सञ्चालक बिच छलफल भएको थियो । उक्त छलफलका विषयमा जानकारी दिंदै प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरिक्षक अपिलराज बोहराले दुबैपक्षबीच समझदारी भइसकेको र विवाद सल्टिएको आफूले जानकारी पाएको बताए ।

तर छलफलमा सहभागी भएका समूदायकाका व्यक्तिहरुले कुनै निष्कर्ष ननिस्किएको बताए । प्रहरीले पनि आपसी छलफल गरेर मिल्न सुझाव दिएको उनीहरुले बताए । तर पीडित भनिएका व्यक्तिहरुले पुनः हुलाकमार्फत उजुरी पठाएको बताएका   छन् । 

के भन्छन हाइड्रोपावर प्रवद्र्धक ?

यता अपर मैलुङ हाइड्रोपावरका प्रबन्ध निर्देशक जितमान शेर्पाले भने कम्पनी नक्कली भएको र रकम हिनामिना भएको दाबी पूर्ण रुपमा गलत भएको बताएका छन् ।

नेपाल न्युज बैंकसँगको कुराकानीमा उनले भने,‘ हामीले शेयर बेचेको कुरा साँचो हो । सरकारी वकिल कार्यालयमा मुद्दा परेको भन्ने सुनेको छु । उहाँहरुले पैसा हालेकै हो, हामीले प्रमाणपत्र दिएकै हो । हाम्रो प्रोजेक्ट त्यहाँ छँदैछ, कम्पनी छँदैछ, तपाइँहरुलाई के प्रमाण चाहियो म सबै दिलाइदिन्छु भन्दै मैले हिजो उहाँहरुलाई भनेको थिएँ,‘उनले भने । ‘अब कसैले अफवाह फैलाउँछ, हावाको भरमा दौडिन्छ भने त मैले केहिपनि गर्न सक्दिन ।’ कम्पनी कसरी फेक हुन्छ ? दुई अर्ब रुपैयाँको लगानीमा बत्ति बल्ने तयारीमा रहेको प्रोजेक्ट फेक हुन्छ र ? उनले प्रश्न गरे ।

प्रमाण बिना कम्पनीनै नक्कली भनेर मुद्दा हाल्न नै दौडिनु भन्दा आरोप लाउनुभन्दा अगाडि प्रमाण जुटाउनुपर्ने उनको तर्क छ । आफूले नै हस्ताक्षर गरेर रकम बुझेकोले प्रहरी र सरकारी वकिलले बोलाए कम्पनीको सबै प्रमाणसहित उपस्थित हुने उनले बताए ।

बिना प्रमाण कसैलाई आरोप लगाउँदा मानहानीमा जान्छ भन्ने कुराको हेक्का राख्न समेत उनले आरोप लगाउनेहरुलाई आग्रह गरेका छन् । साथै, ९५ प्रतिशत काम सकिएको कम्पनीलाई फेक भनेर प्रहरीमा उजुरी गर्नेहरुलाई नै आफुले मुद्दा हाल्न सक्ने चेतावनी पनि उनले दिए ।

शेर्पाका अनुसार उनीहरुले कम्पनीमार्फत प्राप्त गरेको शेयर संस्थापक शेयर हो । लगानीकर्ताले यस्तो खालको शेयर बिक्री गर्नका लागि हाइड्रोपावरबाट बिजुली उत्पादन भएको तीन बर्षसम्म कुर्नुपर्ने हुन्छ । कम्पनी अहिले आईपीओमा जाने प्रक्रियामा रहेको छ ।

‘कसैले पनि अरुलाई गलत आक्षेप वा आरोप लगाएर ठूलो वा सानो भइँदैन । यथेष्ट प्रमाणका आधारमा मात्रै आरोप लगाउने गर्दा राम्रो हुन्छ । पूर्वप्रधानमन्त्री एवम् नयाँशक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईको पहलमा यो लगानी कम्पनीमा भित्रिएको हो । विवेकशील संस्थाको तर्फबाट भट्राईमार्फत लगानी आएको हो । कसले कताबाट लगानी ल्यायो त्यो मलाई थाहा हुँदैन तर एउटा संस्थाबाट आएकाले हामीले लिएको हो,‘ उनले भने । ‘एउटा व्यक्तिले उठाएको कुरामा हामी दौडिन सक्दैनौं । उनीहरु विवेकशील संस्थामार्फत आएकाले हामीलाई भन्दापनि त्यहि संस्थामा बुझ्नुपर्ने उनको तर्क छ । यस हाइड्रोपावरमा करिब २ हजार मान्छेले यसरी लगानी गरेका छन् । जसमध्ये करीब २५ देखि ५० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुको लगानी रहेको सुनेको छु । ५ करोड ५० लाखभन्दा बढी ववेकशील संस्थाबाट आएको छ ।’

के भन्छन् पीडित ?

सोसाइटिकी तत्कालीन अध्यक्ष पिंकी गुरुङले इनर्जी इन्जीनियरिङ हाइड्रोपावरमा शेयर लगानी गरेवापत आर्थिक रुपमा राम्रो हुने सुझाव दिएकाले आफुहरुले त्यसमा लगानी गरेको सोसाइटीकै सदस्य रामेश्वर (नाम परिवर्तित) ले बताए । गुरुङले नै समन्वय गरेर भविष्यमा मुनाफा आउँछ, तपाइँहरुले आ–आफ्नो हिसाबले लगानी गर्नुहोला भनेपछि त्यसमा पैसा लगानी गरिएको उनले बताए ।

‘हाम्रो त हाइड्रोपावरमा पनि चिनजान छैन र हामी त राजनीतितिर पनि नलागेको मान्छे । त्यसकारण गुरुङले भनेपछि मात्रै हामीले त्यसमा लगानी गरेको हो । १० हजार देखि १ लाखसम्म लगानी गर्नेहरु पनि छन तर मैले चाहिँ १० हजार मात्र लगानी गरेको छु ।’

‘आफूले लगानी गरेको रकमको कुनै मुनाफा नपाएको यत्रो वर्ष भयो । हामी सबैले नगद नै दिएकाले पनि बलियो प्रमाण छैन् । कम्पनीले पनि कुनै प्रमाण दिएको छैन । हामीलाई त पैसा ल्याउनु बुझाउनु मात्रै भनेको हो । हामीले सोसाइटीकै कार्यालयमा नगद पैसा बुझाएका हौं । सात वर्षपछि हामीले रकम बुझाएको प्रमाणपत्र प्राप्त गरेपनि उक्त प्रमाणपत्रमा कम्पनीको अध्यक्षको हस्ताक्षर छैन् । यत्रो वर्षसम्म पनि हामीले बुझाएको रकमको कुनैपनि मुनाफा नआउँदा हाम्रो रकमको दुरुपयोग भयो कि भन्ने लागेको छ । अब यसको सम्पुर्ण जिम्मेवारी पिङ्की गुरुङले नै लिनुपर्छ ।’

यस्तै, पीडित दावी गरिरहेका अर्का (कामेश्वर) नाम परिवर्तनले पनि आफुले हाइड्रोपावरको शेयर किन्न ४४ जार रुपैयाँ बुझाएको बताए ।

उनले भने ‘मैले ४४ हजार रुपैयाँ बुझाएको भएपनि उहाँहरुले ४० हजारको मात्रै प्रमाणपत्र दिनुभएको छ । प्रतिकित्ता ११० को दरले भन्नु भएको थियो तर प्रतिकित्ता १० रुपैयाँ बराबरको पैसा कहाँ गयो त्यो त थाहा भएन् । तर रसिद चाहिँ ४० हजारको मात्रै छ । मैले ब्लु डाइमण्डकै फाइनान्स अफिसरलाई पैसा बुझाएको हो । त्यसबेला हामीलाई पैसा बुझाए बापतरसिद मात्र दिइएको थियो तर अहिले एक वर्षजति भयो शेयरधनी प्रमाण पत्र पाएको । थुप्रैजनासँग यसरी पैसा उठाइएको छ कतिपयले पैसा छैन भनेर बुझाएनन् । मैले चाहिँ शेयरमा लगानीगर्दा घाटा हुँदैन फाइदा नै हुन्छ भनेर बुझाएको हुँ ।’

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका अर्का सम्योग (नाम परिवर्तन) ले पनि गुरुङकै मध्यस्थतामा हाइड्रोपावरमा लगानी गर्ने भनेर रकम उठाइएको बताए । मेरो बिचारमा सन् २०१७ को नोभेम्बर महिना तिरको कुरा हो । त्यसबेला नयाँशक्ति पार्टीका संस्थापक संयोजक बाबुराम भट्टराई वल्र्ड टे«ड सेन्टरमा कार्यक्रम गर्नुभएको थियो । त्यसबेला उनकी पत्नी हिसीला यमीलगायत पिंकी गुरुङ पनि अतिथिको रुपमा हुनुहुन्थ्यो,’ उनले भने । ‘हामीलाई पनि त्यहाँ बोलाइएको थियो, पछि भट्टराईले समुदायका मान्छेलाई हाइड्रोपावरमार्फत आर्थिक आम्दानी गराउने भन्दै गुरुङले मध्यस्थता गरेर समुदायका साथीहरुसँग हाइड्रो पावरमा शेयर हाल्नका लागि आकर्षित गर्नुभएको हो । हाम्रो साथीहरुले पनि आफ्नो इच्छा चाहना र क्षमता अनुसार पैसा बुझाएका हुन् ।’

पिंकीको भनाइ जस्ताको त्यस्तै

PIIC

करिव सात वर्ष अघि म नयाँ शक्ती पार्टीमा आवद्ध भए । समूदायको राजनीतिक समावेशिता, संवैधानिक र कानुनी अधिकारको लागि कुनै दलमा संलग्न हुनुपर्छ भन्ने मनशायले विशुद्ध समुदायमा होमिनुपर्छ भन्ने शक्तीका शाथ लागियो र प्रतीनिधी सभाका समानुपातिक उमेदवार पनि भए । पार्टीको मुल नारा आर्थिक समृद्धिसंगै आर्थिक क्रान्तिका केही अभियान र कार्यक्रमहरु शुरुवात हुन थाल्यो । त्यसै प्रसंगमा रसुवाको अपर मैलुङ हाइड्रो पावरको कुरा रसुवाका युवा नेता प्रेम तामाङजीले   ल्याउनुभयो । पार्टीभित्र घनीभुत रुपमा छलफल चल्यो । धेरै पार्टी सदस्यहरुले निकै चासोपनि देखाउनुभयो । मलाई चाही हाईड्रो पावर र शेयरको विषयमा त्यति ज्ञान थिएन । तर पार्टी भित्रको चर्चा र परिचर्चाले साच्चै आर्थिक समृद्धिमा हाईड्रो पावरले ठूलो भुमिका खेल्नसक्छ भन्ने भ्रम सवैमा पर्यो । मलाईपनि बावुराम भट्टराई र हिसिला यमी अनि प्रेम तामाङजीले पिंकीजी ल केही गर्नुपर्छ भन्नुभयो । म अन्योलमा थिए । मैले साथीहरुसंग सोध्छु भने । अफिसमा आएर मनिषा, राजेश, प्रकास र संजयसंग सल्लाह मागें । हुन्छ, हाईड्रो पावरमा त राम्रो हुन्छ भन्ने प्रतिक्रिया आयो । त्यसपछी अन्य साथीहरुलाई यो विषयमा छलफल गराउन प्रेम तामाङजीलाई निल हिरा समाजको कार्यालयमा वोलाएर छलफल गरियो । मलाई लाग्यो की यस्तो अवसर छ भने मेरो समुदायले पनि पाओस भन्ने लाग्यो ।

त्यसै अनुरुप अनुरुप प्रेम तामाङजीले साथीभाईसँग छलफल गर्नुभयो र राजीखुसी हुने साथीहरुले विवेकशील आदर्शको फारम भर्दै रसिद लिनुभयो । प्रमोटर सेयरको लागि फाराम भर्ने काम भयो र जमलस्थित विभोर वैंकमा रकम जम्मा गरिदियौं । करिव सात वर्ष आइपुग्दासम्म पनि अपर मैलुङको हाईड्रो पावर चल्न सकेन । केही साथीहरुमा शंका उपशंका उब्जिन थाले । मैले प्रेम तामाङजीसंग सम्पर्क गर्दा अव हुन्छ नआतिनु भन्ने खवर आयो । तर धेरै समयवाद पनी आईपिओ खुलेन । शेयर लागतको रकमको प्रमाण पाउन सकिएन । फेरी प्रेमजीसंग कुरा गर्दा इनर्जी इन्जिनियरिङ कम्पनीसंग सम्झौता भएको छ त्यहाँको एमडी जितराम शेर्पासंग कुरा गर्नु भनेर नम्वर दिनुभयो । मैंले कल गरें र थापाथलीस्थित इनर्जी इन्जिनियरिङ कम्पनीमा भेट्न गए। उहाँले हो वीवेकशीलवाट पैसा आएको तपाईंको साथीको नाम लिस्ट दिनुभन्नु भयो । मैले सुदिप गौतम छोरालाई भनेर विवेकशील र इनर्जी दुवैमा नाम पठाउन लगाए । अव लगानीको के छ त प्रमाण भन्ने कुराहरु आए । इनर्जीले ढुक्क हुनु हामी दिन्छौ भने । पछि फेरि जितमानजीलाई कल गर्दा पिंकीजी अव  मलाई होइन चन्द्रजीलाई कल गर्नु भनेर नम्बर दिनुभयो ।

उहाँ संघर्ष समितिको अध्यक्ष हुनुहुँदो रहेछ । मैंले उहासंग वारम्वार कल गरें । सुदिपलाई भेट्न पनि पठाए । पछि सर्टिफिकेट दिने कुरा आयो । ल अव त ढुक्क भयो भन्ने लाग्यो । पछि ससर्टिफिकेट आउँदा कम्पनीको एमडीको हस्ताक्षर र कम्पनीको छाप मात्र भएको सर्टिफिकेट आयो । मैंलै उत्तिनैखेर चन्द्रजीलाई कल गरेर सर्टिफिकेटमा अध्यक्ष कुशकुमार जोशीको हस्ताक्षर छैन त भनेपछि उहाँले कम्पनी छाप नै आधिकारिक हो केही हुन्न भन्नुभयो।

अहिले आएर केही मेरा साथीहरुले मैले ठगी गरेको, नक्कली प्रमाणपत्र दिएर ठगी गरेको भन्ने आरोप लगाई जिल्ला प्रहरी परिसर कार्यालयमा निवेदन दिएको रहेछ । मैलै कुनै वदनियत राखेर अरुलाई झुकयाऊला, ठगौला भन्ने नियत राखेर गरेको थिएन तर आज नखाएको विष पनि लाग्दोरहेछ भन्ने आभाष भइराखेको छ । (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया