काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महिलाको सशक्तिकरण र नेतृत्व विकासमा निरन्तर लगानी आवश्यक रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जीवनमा सिकाइ र परीक्षण निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गरे । ‘सिक्ने र परीक्षण लिने भन्ने चिज जीवनमा कहिले पनि सकिँदैन । जबसम्म सिक्ने भोक आफूमा जीवित रहन्छ, तबसम्म परिवर्तन एवम विकासको सम्भावना पनि जिवित रहन्छ,’ उनले भने । अध्यक्ष लिङ्देनले जनसंख्याको ५१ प्रतिशतभन्दा बढी हिस्सा महिलाले ओगटेको भन्दै महिलाको सक्रिय सहभागिता विना कुनै पनि संगठन मजबुत हुन नसक्ने बताए । ‘५१ प्रतिशत भन्दा बढी महिलाहरुको जनसंख्या छ । त्यसमाथि पनि अहिले विदेश जानेहरुको संख्यालाई हिसाव गर्यौं भने दुई अढाई लाख महिलाहरुकै संख्या छ । महिलाहरू सशक्त, बलियो र अग्रसर नभई महिला संगठन सम्भव छैन,’ उनले भने ।
देशबाट ठूलो संख्यामा युवा विदेशिने प्रवृत्तिको उल्लेख गर्दै उनले दुई अढाई लाख महिला विदेशमा रहेको तथ्याङ्कसमेत प्रस्तुत गरे । उनले थपे, ‘हामी सबैको प्रतिस्पर्धा अरुसँग होइन, आफैंसँग हो । समाजमा खुट्टा तान्ने प्रवृत्तिबाट माथि उठेर हातेमालो गर्दै सकारात्मक उर्जासँगै अघि बढ्नुपर्छ ।’ कार्यक्रममा राप्रपा निकट महिला नेतृहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया