भारतको उत्तराखण्ड पहिरोमा ७ नेपालीको ज्यान गयो, १८ अझै बेपत्ता

काठमाडौँ। भारतको उत्तराखण्डमा बाढीपहिरोमा परी ७ जना नेपालीको मृत्यु भएको छ। १८ जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा जुम्ला र जाजरकोटका ७ जना छन्। यस्तै, जाजरकोटको कुशे गाउँपालिकाका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन छन्।

मंगलबारको भारी वर्षाका कारण उत्तरकाशीमा बाढी आएको थियो। बुधबार पौडी गढवालमा पहिरो गएको थियो। बेपत्ता नेपालीको खोजी र उद्धारका लागि स्थानीय तहहरूले नेपाल सरकारलाई आग्रह गरेका छन्।

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार वडा नम्बर २ का ५ जनाको मृत्यु भएको छ र १३ जना बेपत्ता छन्। मृतकहरूमा कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह र रविन सिंह छन्। यसैगरी जुम्लाका जनकबहादुर शाही र रुकुमका एकजना पनि सम्पर्कविहीन छन्।

बर्दियाका मधुवन नगरपालिकाका ५ जना पनि बेपत्ता छन्। बेपत्ता हुनेमा नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती र छोरा रोमन, रामु परियारकी श्रीमती अमृता र सुवास विक छन्।

कुशे गाउँपालिकाले बेपत्ताको खोजीका लागि संघीय सरकारलाई कूटनीतिक पहल गर्न आग्रह गरेको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले पनि गृह मन्त्रालयमार्फत समन्वय गरिरहेको बताएका छन्।

यसैबीच, नयाँ दिल्लीस्थित नेपाली दूतावासले पनि भारत सरकारसँग समन्वय गरिरहेको छ। भारत सरकारले बाढी प्रभावित क्षेत्रमा २७४ जनाको उद्धार गरिसकेको र खोजी कार्य जारी रहेको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजीका लागि कूटनीतिक पहल भइरहेको बताएका छन्।

प्रतिक्रिया