काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालीहरुको निराशालाई आशामा बदल्न आफुले उज्यालो नेपाल अभियान सुरु गरेको बताएका छन् ।
अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोबल संस्थाले घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानीत गरेपछि कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् । उक्त संस्थाले घिसिङले नेपालको उर्जा क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मानीत गरेको हो । अवार्ड समारोहलाई सम्बोधन गर्दै घिसिङले १८ घण्टासम्म लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे । “जहाँ बत्ती नै थिएन त्यहाँ पनि पु¥यायौं । अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ । प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौं । व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ,“ उनले भने । एक जिम्मेवार नागरिकको हैसियतले अब के गर्ने भनेर सोच्दै गर्दा ’उज्यालो नेपाल’ अभियान सुरु गरेको उनले बताए ।
“सबै क्षेत्रमा सुशासन, सामाजिक न्याय, गरिबी हटाउन, रोजगारी ल्याउन र नेपालीहरुको निराशालाई आशामा बदल्नको लागि उज्यालो नेपाल अभियान लिएर अगाडी बढेको हुँ । तपाईं सबैको साथको लागि अनुरोध गर्छु,“ घिसिङले भने । “आगामी दिनमा तपाईंहरुले गरेको यो सम्मान मेरो आत्मबलको श्रोत हुने छ । “उक्त कार्यक्रममा घिसिङसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीलाई पनि ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले स्वर्ग जस्तो देश, विविधता भित्र एकताको देश नेपाल आज विश्वको गरीबतम मुलुकको रुपमा चिनिएको तर यो स्थितिबाट मुलुकलाई माथि उठाउनु पर्ने बताए । “तपाईंहरुको सीप र क्षमतालाई शक्तिमा बदल्नु छ । एक पटक नेपाल फर्किउँ, नेपाल फर्कने वातावरण हामी बनाउँछौं,“ उनले भने । उनले कुलमान घिसिङ एक कुशल प्रबन्धक मात्र नभएर उज्यालो नेपालका नायक पनि हुन् भन्दै नेपालमा हरेक क्षेत्रमा त्यस्ता नायक चाहिएको बताए ।
सांसद शाहीले वंशजको नागरिकता खारेज गर्न पाईदैन भन्दै एक पटक देश बनाउन आत्मा साक्षी राखेर अगाडी बढ्न पनि आह्वान गरे । “मैले पनि राजनीतिमा प्रवेश गर्छु भनेर सोचेको थिइन । तर पोखरीमा फोहर छ भनेर डिलमा बसेर हेर्ने होइन, पोखरी सफा गर्न त्यहाँ भित्र छिर्नै पर्छ,“ उनले भने । कार्यक्रमलाई सम्बोधन गर्दै चर्चित गायिका आनी छोइंग ड्रोल्माले यो संस्थाले देश विदेश जहाँ रहे पनि आफ्नो देश र समाजको उन्नतिको लागि योगदान गर्ने नेपालीहरुलाई सम्मान गरेर हौसला बढाएको बताइन् । उनले नेपालको उन्नतिमा हातेमालो गर्न सबैलाई आग्रह गरिन् ।
कार्यक्रममा खेलकुद, संगीत, व्यवसाय लगायत विभिन्न क्षेत्रमा योगदान पुरा¥याउने गैर आवासीय तथा नेपाली अगुवाहरुलाई सम्मान गरिएको छ । राजनीति, धर्म, जाति वा वर्ग भन्दा माथि उठेर संसारभरि रहेका नेपालीहरुलाई एकजुट गर्ने उद्देश्यले ’हाम्रो नेपाली ग्लोबल’ स्थापना गरिएको उक्त संस्थाले जनाएको छ ।
प्रतिक्रिया