काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शुक्रबार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न उठाएका छन् । उनले यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भएको भन्दै सरकारको कडा आलोचना गरेका हुन् ।
उनले भने, ‘यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भयो कुर्सीकै लागि यत्रो हानथाप हुँदा जलस्रोतको धनी देश आज सुख्खाको चपेटामा परेको छ ।’ सिंहका अनुसार तराई–मधेस क्षेत्र सुख्खाग्रस्त भइरहँदा त्यही क्षेत्रमा अवस्थित चन्द्र नहर (मधेस) र बम नहर (रौतहट–बारा) जस्ता ठूला सिँचाइ आयोजनामा पानी नहुँनु सरकारको लापरबाही र व्यवस्थापनको असफलताको प्रमाण भएको बताए ।
‘किन सुख्खा परेको छ भनेर हेर्दा, चन्द्र नहर, बम नहर छन्, तर पानी छैन’, सिंहले भने, ‘यो सबै व्यवस्थापकिय कमजोरी हो। सरकार आफैँले प्रकृतिले दिएको स्रोत बिगारेको छ ।’
उनले प्रधानमन्त्रीको सुख्खा क्षेत्रको भ्रमणलाई प्रचारमुखी भन्दै आलोचना गरे । ‘प्रधानमन्त्री सुख्खा क्षेत्रतिर जानुभएको छ, तर अहिले जनतालाई भ्रम होइन, राहत चाहिएको हो’, सिंहले भने ।
प्रतिक्रिया