प्रस्तावित न्यायाधीश पोखरेलमाथि जनार्दन शर्माले उठाए प्रश्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलमाथि प्रश्न उठाएका छन् ।

उनले राजनीतिक पक्षधरको लगाव त्यागेर स्वतन्त्र रुपमा निष्पक्ष काम हुनसक्नेमा शंका समेत व्यस्त गरे । आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई स्वतन्त्ररुपमा निष्पक्ष भएर न्याय दिने कुरामा प्रश्न गरेका हुन् । ‘यहाँले बारमा पदाधिकारीको रुपमा काम गर्नुभएको छ । बार राजनीतिक धारहरुसँग जोडिएर प्रतिस्पर्धा गर्ने संस्थाको रुपमा काम गर्ने संस्था हो । स्वतन्त्र बार त देखिरहेको छैन । हुनुपर्ने त स्वतन्त्र हो,’ उनले भने । उनले राजनीतिक पक्षधरताका कारण कतिपय मुद्धाहरुमा सुनुवाई नै नहुने र त्यसको कारण न्याय ढिलाई भईरहेको बताए ।

 उनले भने, ‘बारको प्रतिस्पर्धा कतै न कतै राजनीतिक पक्षधरतासँग जोडिन्छ । त्यसभित्र टर्मिनेन्ट भएर जाने त भन्नुभएको छ । तर पक्षधरको लगाव निष्पक्ष होला त ? भन्ने प्रश्न उठ्न सक्छ । कतिपय मुद्दाहरुमा सुनुवाई नै नहुने हुन्छ त्यसले न्याय ढिलाई हुनु न्याय होइन र ?’

बैठकमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित पोखरेलले आफ्ना योजनाको प्रस्तुति दिँदै यदी सर्वोच्चको न्यायाधीशमा अनुमोदित भए राजनीतिक पहिरन छाड्ने बताए । ‘म एक महिनासम्म हातखुट्टा बन्द गरेर बस्न सक्ने मान्छे हुँ । मलाई राजनीतिक जुत्ता जोड्न केही समस्या होइन । हेर्नुहोला, मलाई त्यो ठुलो समस्या होइन । मेरो राजनीतिको पृष्ठभूमी कति गहिरो थियो अध्ययन गर्नुभएकै होला । तर त्यति गहिरो रुपमा हेर्नुपर्दैन । म छोड्छु । यहाँहरुले बेला बेला सचेत गर्नुहोला,’ उनले भने । 

उनले कोही व्यक्ति सार्वजनिक पदमा जाने भएपछि प्रश्न उठ्छ त्यो सामान्य भएको पनि बताए । 

 

प्रतिक्रिया