काठमाडौँ । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमसँग काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका शिक्षामा नवप्रवर्तनका कार्यक्रम प्रभावकारी देखिएको दाबी गरिएको छ ।
यी कार्यक्रमबाट बालबालिकालाई लाभान्वित गराउन अन्तरसरकार सम्बन्धमा शिक्षाका कार्यक्रमलाई तहगत सरकारले अपनत्व ग्रहण गर्ने र कार्यान्वयनमा साझेदारबीच सहकार्य गर्ने वातावरण बनाइएको महानगरको दाबी छ ।
काठमाडौँ महानगरपालिकाले शुक्रबारबाट राष्ट्रिय सभा गृह र द व्लु पेभेलियनमा प्रारम्भ गरेको दुई दिने शैक्षिक सम्मेलनको पहिलो दिनका सत्रहरुले दिएको सारमा यस्तो बताइएको हो ।
नवप्रवर्तनमा आधारित महानगरपालिकाका शैक्षिक योजना तथा कार्यान्वयनमा आएका कार्यक्रमका अनुकुलता र प्रतिकुलता विषयक शैक्षिक सम्मेलन (एजुकेसनल कन्फरेन्स अन इनेब्लिङ् इनोभेसन्स इन एजुकेसन प्लानिङ् एण्ड इम्प्लिमेन्टेसन) आजसम्म चल्नेछ ।
सम्मेलनको सारवक्ताका रुपमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्यले, सार्वजनिक शिक्षाबाट नै सर्वसाधारणको पहुँचमा शिक्षाको अवसर प्रदान गर्न सकिने बताइएको छ ।
काठमाडौँ महानगरपालिकाले प्रयोग गरेका, सञ्चालन गरेका र दिगो उपयोग योजनामा राखेका शैक्षिक नवप्रवर्तनका ढाँचा र विद्यमान अवस्थाका बारेमा प्रस्तुतिकरण गर्दै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, विद्यार्थी र अभिभावकको रुचिलाई वर्तमान आवश्यकतासँग जोडेर कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो । महानगरपालिकाका अभ्यासलाई राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको पृष्ठपोषणबाट सुधार र संस्थागत गर्दै लगिने झाको भनाइ छ ।
सम्मेलनमा भुटानका पूर्वशिक्षामन्त्री ठाकुर एस. पौड्यालले, माइ ग्रीन स्कूल ः पुनस्थापनात्मक सिकाइ र मानवीय समृद्धिको ढाँचा विषयमा प्रस्तुतिकरण गरेका थिए ।
समानान्तर सत्रहरुमा प्रारम्भिक बाल स्याहार र विकास तथा प्रारम्भिक बाल शिक्षा (अर्ली चाइल्डहुड एजुकेसन एण्ड डिभलपमेन्ट)का नीति र अभ्यास, भर्चुअल शिक्षण सिकाइ ः डिजिटल अभियान, शिक्षकहरुको वृत्ति विकासको निरन्तरताका लागि टिचर कलेज कार्यक्रमलगायत विषयमा सामुहिक धारणा निर्माण र छलफल भएका थिए ।
विश्वभर प्रयोग गरिएका नोवल इञ्जिनियरिङ्, रुपान्तरण र त्यसको ग्रहण, शैक्षिक पूर्वाधार निर्माणका उपयुक्त विधि, नेपालमा शिक्षा ऐनका आयाम र प्रभाव, बदलिँदो विदेशी सहायता र यसका आयाम, आउँदा पुस्ताका लागि शिक्षा चाहिने शिक्षा, साक्षरताको अभ्यास लगायत विषय सम्मेलनमा समेटिएका छन् ।
प्रारम्भिक शिक्षामा लगानी र संरचनाको उपयोग, विश्व अभ्यासका सिकाइ र स्थानीयकरणको सान्दर्भिकता, हरित र स्मार्ट विद्यालय, बाल केन्द्रीत वातावरण सम्मेलनका छलफलका लागि राखिएका मुख्य विषय हुन् ।
सम्मेलनमा भुटान, भारतसहित विभिन्न ६ देशका शिक्षा क्षेत्रका विज्ञ तथा शैक्षिक रुपान्तरणमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएका छन् । उनीहरुले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रमका बारेमा प्रशंशा गर्दै आफ्नो परिवेशमा सञ्चालिन यस्तै प्रकृतिका कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
विभिन्न ५ वटा हलमा समानान्तर रुपमा सञ्चालन भएका सत्रहरुमा संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार, वहुक्षेत्रीय साझेदार, स्रोत शिक्षक, शिक्षा अधिकृत र विद्यालय निरीक्षक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक र समुदायका प्रतिनिधिहरुको सहभागिता सुनिश्चित गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले शैक्षिक सुधारका लागि ‘पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन व्यवस्थापन तथा दिगोपना’मा लगानी बढाएको छ । ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ, कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम सञ्चालन भएका छन् ।
सिर्जनात्मक सिकाइका लागि २५ विधामा र शिक्षामा सिप कार्यक्रममा १० विषयका पाठ्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा ल्याएको छ । शैक्षिक नतिजा सुधारका लागि फेस्टिभल क्याम्प, विन्टर क्याम्प, प्रविधिको पहुँच वृद्धि, पठन संस्कार, उपचारात्मक कक्षालगायत सहयोगले एसइइमा ७८ प्रतिशत नतिजा आएको छ । नोग्रेडेड परीक्षामा सहभागीमध्ये ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
सम्मेलनको पूर्व अभ्यासका रुपमा महानगरपालिकाले गएको बैशाख महिनामा शैक्षिक गोलमेच छलफल आयोजना गरेको थियो । गोलमेच छलफल दोस्रो चरणको कार्यक्रम हो । त्यसअघि काठमाडौँ एजुकेसन फेस्ट आयोजना गरेको थियो ।
चरणगत रुपमा आयोजना गरिएका कार्यक्रमबाट विद्यार्थी, अभिभावक, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, तहगत सरकारका अधिकारी, राष्ट्रिय अन्तरराष्ट्रिय संघसंस्थाबाट नवप्रवर्तनका लागि दृष्टिकोण, सुझाव, अनुकुलता र प्रतिकुलता सम्बन्धी पृष्ठपोषण प्राप्त गरेको छ ।
यसरी प्राप्त सुझावको निचोडका आधारमा आगामी शैक्षिक नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने योजना रहेको शिक्षा अधिकृत केशव ज्ञवालीले जानकारी दिए ।
प्रतिक्रिया