जुनसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जुनसकै मन्त्री आएपनि मलको हाहाकार हुने बताएका छन् ।

विहीवार नेपाल डेरी एशोसियसनले काठमाडौंमा गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । रोपाइँको सिजनमा भइरहेको मल अभावको विषयलाई उठाउँदै उनले भने,‘मलको हाहाकार छ, हुन्छ । जोसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ । सरकारले गत वर्ष मल खरिदका लागि २७ अर्ब ९५ करोड बजेट विनियोन गरेको थियो । त्यसबाट साढे ४ लाख टन भन्दा धेरै मल आउँदै आउँदैन बजारमा मलको माग ११ लाख देखि १३ लाख टनको छ । एक चौथाइ मलले कसरी किसानलाई पुर्ति गर्न सकिन्छ । राज्यप्रति दायित्व भइसकेपछि  आउँछ आउँछ भनेर बोल्नु परेको छ ।’

नेपालमा करीब १४ लाख हेक्टर जमिनमा धान खेती हुने गरेको छ । त्यसका लागि करिब २ लाख ३० हजार मेट्रिक टन रासायनिक मल आवश्यक हुने गरेको छ । तर कृषि तथा पशुपंन्छी विकास मन्त्रालयको असार ९ सम्मको तथ्यांक अनुसार सरकारसँग यतिबेला ६६ हजार ४३३ मेट्रिक टन मात्रै रासायनिक मल मौज्दात रहेको देखिन्छ । धान रोपाइँको मुख्य सिजनमा सरकारले किसानलाई आवश्यक मात्रामा मल उपलब्ध गराउन नसकेको गुनासो यतिबेला बढीरहेको छ ।

धान सिजनका लागि कम्तीमा डेढ लाख टन युरिया र ८० हजार टन डिएपीको खपत हुन्छ । तर, गोदाममा युरिया २८ हजार २१२ मेट्रिक टन, डिएपी २९ हजार २७६ मेट्रिक टन र पोटास ८ हजार ९४५ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ । बाटोमा ६४ हजार टन युरिया आउने क्रममा छ । थप मल आपूर्तिको सुनिश्चितता नहुँदा किसान विगतमा जस्तै मलविना नै रोपाइँ गर्नुपर्ने बाध्यतामा छन् ।
 

प्रतिक्रिया