विधेयकमा चलखेल भएकोमा आक्रोशित प्रचण्डको सरकारलाई चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिले सर्वसम्मत पारित गरेका विधेयकमा चलखेल हुनेगरेको टिप्पणी गर्दै सरकारको विश्वसनियतामाथि प्रश्न उठाएका छन् । 

आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएका नेता प्रचण्डले संसदीय समितिले सर्वसम्मत पारित गरेका विधेयकहरूमा चलखेलको मारमा परेको आरोप लगाएका हुन् । नेता प्रचण्डको भनाई समितिबाट सर्वसम्मत पारित विधेयक प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति रहेको छ ।

समितिमा आज नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले  समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न गर्दै सरकारलाई चेतावनी दिएका छन् ।

अध्यक्ष प्रचण्डले  भने,‘हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ । यस्तो चलखेल नहोस्, यो हाम्रो आग्रह हो ।’

संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक जस्ता महत्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै   प्रचण्डले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराए । 

प्रचण्डले भने, ‘संवेदनशील विधेयकहरू टारिनेतिर लागियो भने हामी चुप लाग्दैनौं ।’

माओवादी अध्यक्ष प्रचण्डले प्रहरीसम्बन्धी विधेयकलाई समय सान्दर्भिक, व्यापक छलफल र अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा समेत जोड दिए । 

विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय र संघीयताको मर्मलाई मध्यनजर गरिनुपर्ने प्रचण्डको जोड    थियो ।

‘यो विधेयक ढिला भए पनि आएकोमा सरकारलाई धन्यवाद दिन्छु । तर अब यसको परिमार्जन र समुचित प्रक्रिया सुनिश्चित गरेर अघि बढाउनु आवश्यक छ,’उनले भने ।

अध्यक्ष प्रचण्डको चेतावनीसँगै बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने धारणा व्यक्त गरे । 
 

प्रतिक्रिया