काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापनमा पत्रकारको भूमिका सबैभन्दा अग्र स्थानमा रहने बताएका छन् ।
मंगलबार संचार मन्त्रालयको सहयोगमा विपद पत्रकारिता संजालले काठमाडौमा आयोजना गरेको ‘विपद व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विपदको व्यवस्थापनमा सबैभन्दा ठूलो कुरा सूचना रहेको र सूचनासँग पत्रकार जोडिने भएको कारण विपद व्यवस्थापनमा पत्रकारको भूमिका अग्र स्थानमा रहने बताएका हुन् । उनले भने,‘विपदको व्यवस्थापनमा सबैभन्दा ठूलो कुरा सूचना हो । सूचनासँग पत्रकारहरु जोडिनुभएको छ । त्यसकारण विपद जोखिम न्यूनिकरण गरेर यसको व्यस्थापन गर्ने कुरामा पनि पत्रकारहरु सबैभन्दा अग्र स्थानमा हुनुहुन्छ ।’ त्यस्तै उनले अहिले पत्रकारिता क्षेत्र धेरै व्यवसायिकता हुनकासाथै अत्यन्तै उन्नत र असल ढंगले अगाडि बढिराखेको बताए ।
त्यस्तै उनले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काठमाण्डौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी हालतमा राखिएको जानकारी दिए । मुुलुकका तीन स्थानका साथै अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने तयारी भइरहेको उनले बताए । उनले भने,‘आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारी हालतमा राख्ने विषयमा समन्वय भएको छ । सिमित स्रोत साधनकाबिच विपद् प्रतिकार्य एवं न्यूनीकरणका लागि सरकार लागिपरेको छ ।’ उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायीलगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने मन्त्री लेखकको जोड दिए ।
मन्त्री लेखकले सातवटै प्रदेशमा रहेको आपतकालित गोदाम घर प्रदेश सरकारलाइ स्तानान्तरण गरिएको बताए । संघीय मर्म अनुकूल भएन भनेर सबै गोदाम (काठमाण्डौं बाहेक केन्द्रीय गोदामघर) बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए ।
प्रतिक्रिया