राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझाको माग

काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन सरकारसँग माग गरेको छ । मंगलबार साझा पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिने बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन्। तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन । उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ। राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भनी हामीले विगतमा गरेको मागलाई पुनः दोहोर्याउँछौ। अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो।’

त्यसैगरी उनले नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्न र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न निर्देशन दिन सरकारलाई आग्रह गरेका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझा पार्टीले पौष २७ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्दैछ। उक्त यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुनेछ ।

प्रतिक्रिया