राजनीतिक प्रभावमा मनपरी

खर्बपति बिनोद चौधरी र पूर्व मन्त्री श्रेष्ठको ‘समिट अपार्टमेन्ट’ बन्दा छिमेकीको उठिबास, चलिरहेको पुरानो होटल बन्द

काठमाडौँ । ललितपुरको बखुण्डोलमा ‘समिट अपार्टमेन्ट’ ९रेसिडेन्सी० निर्माणाधीन छ । ठूलो लगानीको यो अपार्टमेन्ट निर्माणका क्रममा कतिपय विवाद देखिएको छ । अपार्टमेन्टले १९ रोपनी जग्गा ओगटेको छ । संरचना बनाउने क्रममा बस्तीको जमिन भासिएको छ । यसरी जमिन भासिँदा छरछिमेकका घरहरु र चार दशकदेखि सञ्चालनमा रहेको ग्रिनवीच होटल समेत नराम्ररी प्रभावित भएको छ । 

स्थानीयका घरहरु पनि भासिएका थिए । कतिपय स्थानीय बासिन्दा अन्यत्र विस्थापित हुनुपरेको थियो । यतिमात्र होइन संरचना बनाउँदा आवश्यक कानुनी प्रक्रिया पूरा नगरिएको साथै मापदण्डको पनि पालना नगरिएको पाइएको छ । उक्त संरचना बनाएको जग्गा स्थानीय एक परिवारबाट अनेक प्रपञ्च गरी हडपिएको थियो । त्यस स्थानबाट हाल अन्यत्र बसाइँ सरेका पीडितमध्येका स्थानीय रन्जनध्वज विष्ट मापदण्ड पूरा नगरी निर्माणको काम रातारात गरिएको तर गुणस्तरहीन भएकाले आसपासको जग्गा भासिने जस्तो समस्या देखिएको बताएका थिए ।

समिट अपार्टमेन्ट बनाउने क्रममा सबै सुरक्षाको उपाय अपनाइने, माटो नभासिने र कुनै समस्या नआउने भनेर आफूहरुलाई आश्वासन दिएपनि आफूखुशी काम गरेर ढाँटिएको पीडित पक्षको गुनासो छ । जग्गा चिरिने, भासिने जस्तो समस्या देखिन थालेपछि उनीहरुले सिकायत गरेपछि इन्जिनियरहरु आएर स्थलत निरीक्षण पनि गरेका थिए । तर निरीक्षण पछि सम्बन्धित निकायबाट उपयुक्त सहयोग नपाईएको उनीहरुको गुनासो रहेको   छ । 

यसैगरी अर्का पीडित स्थानीय रिकध्वज विष्ट अपार्टमेन्ट बनाउँदा कुनै मापदण्ड नअपनाइएको पाइएको गुनासो गरेका थिए । सम्बन्धित इन्जिनियर र प्राविधिकहरुसँग कुरा गर्दा उनीहरुले हतारहतारमा काम गर्दा केही प्राविधिक समस्या भएकाले यस्तो समस्या आएको बिष्टले त्यतिबेला बताएका थिए ।

विष्टसहितका पीडितहरु र आसपासका अन्य बासिन्दाको समूहले पटकपटक बस्तीमा समस्या आएको भन्दै ध्यानाकर्षण गराएका थिए । त्यस क्रममा पीडितहरुलाई क्षतिपूर्ति दिने र कामलाई व्यवस्थित गर्ने आश्वासन दिएका थिए । तर अहिले पनि आश्वासन अनुसार केही काम नभएको पीडितहरुको गुनासो छ ।

अर्का पीडित स्थानीय प्रदिप न्यौपानेले समिटको संरचना बनाउँदा कुनै पनि मापदण्ड पूरा नगरिएको र यस्तो संरचना बनाउन सम्बन्धित निकायहरुले आवश्यक अध्ययन बिना कसरी अनुमति दिए भन्ने आफूहरुलाई आश्चर्य लागेको त्यसबेला नै गुनासो गरेका थिए । यतिमात्र होइन मन्त्री स्तरमा बनेको एक समितिले समेत दिएको निर्देशन पालना नगरी समिटले काम गरेको देखिएको छ । समिट अपार्टमेन्ट निर्माणका क्रममा देखिएको समस्या तथा छिमेकका घरहरुमा क्षति पुगेको सम्बन्धी छानवीन गरी राय सुझाव सहितको प्रतिवेदन पेश गर्न मिति २०८० वैशाख ३ गते को नेपाल सरकार शहरी बिकास मन्त्री स्तरको निर्णय अनुसार, भवन तथा शहरी बिकास विभागको संयोजकत्व वरिष्ठ प्राविधिकहरु, भवन संहिता तथा मापदण्ड शाखा शहरी बिकास विभाग रहेको छानविन टोली गठन गरिएको थियो । जसले कैयौं त्रुटी औंल्याउदै समिट अपार्टमेन्टलाई ती त्रुटी र सुधार गर्नुपर्ने कुरा सुधारेर मात्र निर्माण कार्य अघि बढाउन निर्देशन दिएको थियो । तर सरकारी निकायका कुनै पनि सुझाव वा निर्देशन पालन नगरी राजनीतिक दवावका भरमा निर्माण कार्य जारी राखिएको देखिएको छ ।

अहिले बनिरहेको संरचनाका कारण पहिले हरियाली क्षेत्र रहेको उक्त बस्ती अहिले उजाड बनेको छ । आवश्यक अनुमति पनि नलिएको, कुनै खालका आधारभूत मापदण्ड समेत पूरा नगरिएकाले समग्र बस्ती नराम्ररी प्रभावित भएको देखिन्छ । स्थानीय बासिन्दाले उक्त संरचना मापदण्डअनुसार निर्माण नभएको भन्दै ललितपुर महानगरपालिकामा उजुरी समेत दिएका थिए । त्यसबेला महानगरले समिट समूहलाई मापदण्ड अनुसार मात्र काम अघि बढाउन भनेको थियो । यो जानकारी सहित पटकपटक पत्राचार भएको थियो । तर समिट सञ्चालकले अटेर गरेको थियो । अहिले पनि अटेर गरेर आफ्नो निर्माण कार्य अघि बढाईरहेको देखिन्छ ।

ललितपुर महानगरपालिकाका तत्कालीन निर्माण महाशाखा प्रमुख श्रीकुमार महर्जनले त्यतिबेला नै अनुगमन गर्दा गुणस्तरयुक्त नपाइएकाले सचेत गराइएकोमा केही समय रोकिए पनि फेरि काम भइरहेको सूचना आएपछि फेरि अनुगमन गरी रोक्न लगाएको उल्लेख गर्दै महर्जनले तर आफूहरुको चेतावनी र सुझाव अनुसार काम नभएको उतिबेला नै बताएका थिए । अहिले पनि प्राविधिक पक्ष बेवास्ता गर्दै निर्माणको काम निरन्तर भएको अनि आसपासका जमिन र घर भासिने क्रम नरोकिएपछि फेरि स्थानीयले पटकपटक महानगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका छन् ।

महानगरपालिकाले जमिन भासिएर स्थानीयका घर समेत ढलेपछि मात्र महानगरपालिकाले अलि चासो दियो । उपमेयर मञ्जरी शाक्य बज्राचार्यको संयोजकत्वमा पीडित र सम्बन्धित पक्ष राखेर एउटा समिति गठन गरियो । परियोजनाबाट पीडितहरुको समस्या समाधान गर्न तत्कालका लागि १ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय पनि भयो । तर अहिलेसम्म पीडितहरुले उपयुक्त राहत सहयोग पाउन नसकेको बुझिएको छ ।

ललितपुर महानगरपालिका–१ मा पर्ने कित्ता नम्बर ५८५ को १ रोपनी ८ आना जग्गा समिट समूहकै ‘समिट ट्रेकिङ प्रालि’ ले २०५५ कात्तिक १५ गते स्थानीय इन्द्रध्वज विष्टबाट लिजमा लिएको थियो । विष्ट परिवारका सदस्यलाई थाहै नदिई २०६० मंसिर २६ गते समिटका सञ्चालकले राजीनामा लिखत गराएर ती जग्गा आफ्नो नाममा पास गराएका थिए । यो काममा सहकार संस्था ‘सनसाइन सेभिङ एन्ड लोन कोअपरेटिभ लिमिटेड’ लाई माध्यम बनाइएको थियो ।

ललितपुरको बखुण्डोल (कुपण्डोल हाइट) मा पहिले समिट होटल थियो । उक्त होटलको भवन र अरु संरचना भत्काएर लक्जरी अपार्टमेन्ट सहितको नयाँ प्रिमिम होटल बनाउने काम धमाधम जारी छ । उक्त संरचना बनाउने क्रममा ठूला खाले विभिन्न उपकरणहरु प्रयोग गरिएको थियो । त्यसै क्रममा गत चैत २४ गते त्यहाँ आसपासको जग्गा र घरहरू भासिएका हुन् । कतिपय स्थानमा जमिन चिरा परेको छ । ऋगध्वज विष्टको ६ तले भवनको भुइँतला भासिएर जमिनभित्रै फसेको थियो ।

त्यसपछि समिटले महानगरबाट नक्सापास र स्वीकृति नै नलिई स्थानीयको अवरोधका बीच बनाउँदै गरेको अपार्टमेन्ट परियोजनाविरुद्ध स्थानीयले आवाज उठाए । कानुनी प्रक्रिया र मापदण्ड पूरा नगरी बनाउन थालिएको अवैध संरचना नेपाली कांग्रेसका सांसदसमेत रहेका उद्योगपति विनोद चौधरी नेतृत्वको सीजी ग्रुप, एनई समूह र समिट समूहको लगानीमा बनिरहेको छ । निर्माण कार्यमा संलग्न शर्मा कन्स्ट्रक्सन पनि यसको शेयर सदस्य रहेको बुझिएको छ । 

उक्त स्थानमा ९ हजार ३०२ वर्गमिटर क्षेत्रफल जग्गाभित्र २०२ आवास इकाईसहितका दुई वटा बहुतले अपार्टमेन्ट भवन बनाउने काम धमाधम भैरहेको छ । ललितपुर महानगरपालिका, शहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अवैध ठहर गरेको उक्त योजनाको निर्माणस्थलभित्रको डेढ रोपनी जग्गा समिटले आफ्नो परिवारबाट षडयन्त्रपूर्वक कब्जामा लिएर उपभोग गरेको विष्टले गुनासो गरेका थिए ।

ग्रिनवीच होटलको सेवा बन्द, छ दर्जन कर्मचारी बेरोजगार

समिट अपार्टमेन्ट निर्माण गर्दा प्राविधिक पूर्व तयारी र सुरक्षाको कुनै प्रवन्ध नगरिँदा चार दशक देखि सञ्चालनमा रहेको छिमेककै ग्रिनवीच होटल पनि पूर्ण रुपमा प्रभावित भएको देखिन्छ । यस होटलको स्वीमिंग पुलसँगै टाँसिएर समिटले उसको जमिन खनिदिएपछि होटल तत्कालैदेखि प्रभावित भएर सेवाहरु रोक्नुपरेको सञ्चालकले बताएका छन् । 

ग्रिनवीच होटललाई क्षति वापत उपलव्ध गराउने भनी गरिएको सम्झौता अनुसार, रकम नियमित उपलव्ध नगराएको त्यहाँका कर्मचारीले बताएका छन् । अचानक होटल बन्द भए पछि लामो समयदेखि त्यहाँ काम गरिरहेका कर्मचारीहरु बेरोजगार भएका छन् । समिट अपार्टमेन्टले क्षतिग्रस्त होटलको पुननिर्माण र हाल बन्द रहँदाको व्यवसायिक क्षतिपूर्ति वापत उपलव्ध गराउने भनिएको रकम उपलव्ध गराउने बिषयमा पनि अलमल हुने गरेको कर्मचारीहरु बताउँछन् ।

नेपालका खर्बपति बिनोद चौधरीका दुइ पुत्र, पूर्व मन्त्री तथा उद्योगपति रविभक्त श्रेष्ठ सहितको लगानीमा निर्माणाधीन समिट व्यवस्थापनले ग्रिनवीच होटलको सबै क्षतिपूर्ति दिने र हाल नियमति सञ्चालबाट हुने आम्दानीको समेत क्षति व्यहोर्ने लिखित सम्झौता गरेको थियो । तर केही रकम उपलव्ध गराएपनि सम्झौता अनुसारको रकम उपलव्ध गराउन कैयौंपटक बसेको बैठक निर्णय समेत लेख्न आनकानी गर्दै समिट समूह फुत्किने गरेको बुझिएको छ । समिट होटल प्रालिमा बिनोद चौधरीका तीनमध्ये दुइ छोराहरु यसमा सञ्चालक रहेका छन् । छोरा राहुल चौधरी अध्यक्ष छन् भने अर्का छोरा निर्वाण चौधरी समेत रविभक्त श्रेष्ठ, सुवर्ण श्रेष्ठ, अमृत रत्न शाक्य सञ्चालक रहेका छन् । 

समिट होटल समूहले पीडित पक्षसँग गरेको सम्झौता कार्यान्वयन गर्न आनकानी गरिरहँदा ललितपुर महानगरपालिकाले पनि उपेक्षा गरेको गुनासो पीडित पक्षको छ । महानगर प्रमुख चिरीबाबु महर्जन नेपाली कांग्रेसका नेता भएकाले सोही दलका सांसद तथा केन्द्रीय सदस्य बिनोद चौधरीले राजनीतिक प्रभाव र दवाव दिएर पीडित पक्षलाई उपेक्षा गरिरहेको स्पष्ट देखिन्छ । यस सम्बन्धमा कुरा बुझ्न सम्पर्क गर्दा समिटका सञ्चालकहरु कुरा गर्न तयार भएनन् । उनीहरुका प्रतिनिधि सञ्चित श्रेष्ठले सम्झौता कार्यान्वय भैरहेको दावी    गरे । 

 

प्रतिक्रिया