काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदमा प्रतिकात्मक विरोध प्रदर्शनलाई अन्यथा लिन नहुने भन्दै यसलाई स्वभाविक प्रतिक्रिया मान्नुपर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले निलो रिबन (मानव तस्कर विरुद्धको अभियान) लगाएर प्रतिनिधिसभामा विरोध जनाएकामा आपत्ति प्रकट गरेका नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यसलाई असहज रुपमा लिन आवश्यक नरहेको नेता केसीको भनाई छ ।
मंगलबारको रास्वपाका सांसदहरुले नीलो स्क्याप लाएर प्रतिनिधिसभामा विरोध जनाएका थिए । प्रतिनिधिसभा सदस्य समेत रहेका नेता केसीले भने प्रतिकात्मक विरोध स्वभाविक भएको बताएका हुन् । प्रमुख सचेतक घिमिरेले सदनमा आउदा सांसदहरुले मर्यादित पोशाक लगाएर आउनुपर्ने नियमावलीमा उल्लेख भएको भन्दै सबैलाई एकरुपता ल्याउनका लागि सभामुखको ध्यानाकर्षण गराउनु अन्यथा नभएकोसमेत सांसद केसीले बताए ।
केसीको भनाईमा संसारभरिकै संसदमा पोशाकको कोड रहेको र नियमानुसार चलेको उल्लेख गर्दै प्रमुख सचेतकले जनाएको आपत्तिलाई अन्यथा लिन हुँदैन । तर विश्वभरमै विरोधका लागि विभिन्न पहिरन लगाएर संसदभित्र गएका उदाहरण रहेकाले रास्वपाको विरोधलाई पनि अन्यथा लिन हुदैन ।
सांसद केसीले भने, ‘भारतमा कृषि विधेयकको सम्बन्धमा सांसदले कालोपट्टी बाँधेर संसदभित्र विरोध जनाएको, बेलायतमा ब्रेक्जिटको विरोधमा सांसदले काटो टिशर्ट लगाएर गएको, अमेरिकामा मिटु अभियानमा महिला सांसदले मिटु विरोधी अभियानको टिशर्ट लगाएको र अष्ट्रेलियामा ग्रीन पार्टीहरुले हरियो टिशर्ट लगाएर उपस्थित भएका थिए । धेरै ठाउँमा यस किसिमका विरोधका प्रकृति देखिन्छन् ।’
‘यी चलेका विरोधका प्रकृति मर्यादाभित्र पर्छ कि पर्दैन भन्ने भन्दा पनि विरोधको स्वरुपको बारेमा हो । नेपालमा त संसदमै कुर्सी भाँचाभाँच भएको छ तर संसारव्यापी रुपबाट यी संसदमा विरोधका प्रतिकात्मक तरिकाहरु हुन् । यसलाई प्रुमख सचेतकजीले मर्यादाको कुरा उठाउनु भएकोमात्र हो, केसीको भनाई छ।
नेपालमै यसअघि यस्ता किसिमका गतिविधिहरु भएको स्मरण गर्दै सांसद केसीले भने, ‘कुर्सी भाँच्ने, ब्रिफकेस खोस्ने र सभामुखमाथि जुत्ता प्रहार गर्ने अमर्यादित काम त भएकै हुन् २०७२ को संविधान जारी भएपछि मधेसवादी दलका सांसदले संसदमै धोती कुर्ता लगाएरमात्र होइन कालो पट्टी बाँधेरै विरोध गरेका थिए ।’
‘प्रतिकात्मक विरोध संसारभर चलेको हो । यद्यपि सांसदहरुलाई एउटा निश्चित पोशाकमा बाँधेर राख्न सकियो भने राम्रो हुन्छ, मर्यादित हुन्छ भन्ने दृष्टिकोणले प्रमुख सचेतकले विषय उठाउनु भएको हो । संसदमा शोभनीय प्रदर्शन गर्नुपर्यो भन्ने हो’ उनको भनाई छ ।
प्रतिक्रिया