अखिल (क्रान्तिकारी) द्वारा असार १५ देखि देशव्यापी संघर्षको घोषणा

काठमाडौं । अखिल (क्रान्तिकारी) ले असार १५ देखि ३० गतेसम्म पहिलो चरणमा देशव्यापी ‘विद्यार्थी जागरण तथा शैक्षिक संघर्षको अभियान’को घोषणा गरेको छ । 

आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले अघोषितरुपमा शिक्षालाई निजीकरण तथा व्यापारीकरण गर्न लागेकोले आफूहरुले सघर्ष गर्नु परेकोसमेत जनाएको छ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निककट दुई अखिल (क्रान्तिकारी) र नेकपा (मसाल) निकट अखिल (छैटौं) सहित ३ वटा विद्यार्थी संगठनले जेठ २८ र २९ गते एकता राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले संघर्षको घोषणा गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अखिल(क्रान्तिकारी)का संयोजक महेश श्रेष्ठले सरकारले अघोषितरुपमा शिक्षालाई निजिकरण गर्न लागेकोले आफूहरुले संघर्षको घोषणा गर्नु परेको बताए ।संविधान र कानुन विपरित शिक्षालाई व्यापारीकरण गरिएको बताउँदै श्रेष्ठले भने, ‘सरकारमा रहने मान्छेहरुकै निजी कलेज र विद्यालयहरु भएकाले त्यसलाई आमजनताको पहुँच बाहिर महाँगो र लुटी खाने धन्दा बनाएका छन्, अब त्यसविरुद्ध हामी निर्णायक लडाईँ लड्छौं ।’

संगठनका कार्यालय सदस्य नविन खड्काले सरकारी शिक्षालयहरुलाई आफ्ना कार्यकर्ता भर्ति केन्द्र बनाउने र निजीलाई आफ्नो कमाई खाने भाँडो बनाएको आरोप लगाए । खड्काले एनओसी प्लस्टुमा नदिई स्नातक तहपछि मात्रै दिनुपर्ने निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखे । कार्यालय सदस्य दिपक विष्टले सरकारी तथा सामुदायीक क्याम्पसमा विद्यार्थीहरु सुकाउने र निजी तथा विदशी सम्बन्धनका कलेजहरुलाई मोटाउने वातावरणको अन्त्य गरिनु पर्ने बताए ।

कार्यालय सदस्य नेत्र शाहीले देशमा शिक्षा क्षेत्रमा भ्रष्ट र दलालहरुको विगविगी बढेकाले त्यसको अन्त्य गर्न आफूहरुले उनिहरुविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिए । कार्यालय सदस्य सोभा सेन्चुरीले प्रेस विज्ञप्ति वाचन गर्दै १० बुँदे ‘विद्यार्थी जागरण तथा शैक्षीक संघर्षको अभियान’को बारेमा जानकारी दिइन् ।
 

प्रतिक्रिया