कसरी बिते प्रधानमन्त्री ओलीका सात दिनः ठट्टा, आत्मरति र छेडखानी

काठमाडौं । केही ठूला भ्रष्टाचार र अनियमितताका मुद्दा प्रकाशमा आएपछि देशमा राजनीतिक गतिविधिमा तिव्रता आएको छ । गृहमन्त्री रमेश लेखकको नाम जोडिएर भिजिट भिसा प्रकरणले संसद अवरुध्द भैरहेका बेला पूर्व प्रधानमन्त्री माधव कुमार नेपालका नाममा भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । 

राष्ट्रिय राजनीतिमा तनाव उत्पन्न भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने आत्मरतिमा रमाईरहेका देखिन्छ । उनी औपचारिक समारोहहरुमा यति रमाउन थालेका छन् कि त्यहाँ आफूलाई आफैं प्रशंसाको पुष्पवर्षा गरिरहेका हुन्छन् । 

प्रधानमन्त्री ओलीले हप्ता दिनभित्र संसद चलाउने आश्वासन दिएका थिए । उनले प्रतिपक्षसँग संवादको प्रयत्न गरेको भन्दै आफूलाई संवादप्रति प्रतिबद्ध देखाउने प्रयास गरे ।

तर यथार्थमा, उनले प्रतिपक्षसँग गहिरो राजनीतिक सहकार्यको वातावरण बनाउन सक्ने नेतृत्व क्षमता देखाउन सकेनन् । माओवादी केन्द्रका अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्पर्कमा नआएको भन्दै गुनासो गरिरहेका छन् । 

ओलीको अभिव्यक्ति, ‘गृहमन्त्रीमाथि कुनै छानबिन छैन, त्यसैले राजीनामा माग अनुचित हो,’ भन्ने जस्तो बचाउपूर्ण भनाइ, सत्ता दुरुपयोगको गन्ध दिन्छ । एउटा मन्त्रीमाथि जनचासो बढ्दो छ, संसद ठप्प छ । तर प्रधानमन्त्री भने चित्रकला प्रदर्शनी र मन्च केन्द्रीत मन्तव्यमा दौडधुप गरिरहेका छन् । 

जेठ २० गते प्रधानमन्त्री चित्रकला प्रदर्शनीमा रमाइरहँदा संसद अघिल्तिर ‘धुलो’ उडिरहेको थियो । नारच्याङमा हिमाल आरोहणको महोत्सवको ‘हीरक उत्सव’ मनाउने बेला प्रतिपक्षले गणतान्त्रिक व्यवस्था र जवाफदेहिता माग्दै संसदको मूल ढोका घेरेका थिए । 

उता, संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुसँगको छलफल र नवप्रवर्तकहरुसँगको अन्तरक्रियालाई उनले उद्यमशीलताको महिमामण्डनमा प्रयोग गरे । तर प्रश्न यत्ति हो – जब सदन ठप्प छ, विधिको शासन संकटमा छ, तब नवप्रवर्तन र रोजगारीको कुरा कत्तिको यथार्थपरक छ ?

ओली नेतृत्वले पछिल्लो हप्ता जनताप्रति उत्तरदायी शासन होइन, भाषणप्रधान सत्ता सञ्चालन गरेको आरोप लागिरहेको छ । संवादमा विफल, सदन सञ्चालनमा असफल र सार्वजनिक असन्तोषप्रति गम्भीर नभएको ओली सरकार लोकतान्त्रिक उत्तरदायित्वबाट टाढा पुग्दै गएको आरोप पनि खोपिरहेका छन् । 

प्रधानमन्त्री केपी ओलीले यो हप्ता जेठको १९ गते एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्न  बानेश्वर पुगे । जहाँ उनले  गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताए ।

ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताए तर  अहिलेसम्म संसद सुचारु हुन सकेको छैन ।  ‘भोलिदेखि नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जी कुरा गर्न खोजे तर उहाँ जानीजानी सम्पर्कमा आउनु भएन । वार्ता संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरु हुनुहुन्छ होला । यस्तो व्यवहार सँधै चल्दैन । संसद यस्ता नचाइने कुरामा सँधै बन्द हुँदैन्,’ प्रधानमन्त्री ओलीले भने, ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन । माननीयज्यूहरु तयार भएर बस्नुस् । भोलिदेखि सदन चल्छ ।’

यसैगरी जेठ २० गते ओलीले चित्रकला प्रदर्शनी अवलोकन गरे । ओलीले चित्रकार हरिप्रसाद शर्माको ‘समयक्रममा नेपाल: चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनीको अवलोकन गरेका थिए ।

जेठ २० गते  नै  अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा सहभागि हुन पुगे  । जहाँ उनले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताए । 

‘हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक पूूर्वाधार तयार पारेका कारण सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढेको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘अन्नपूूर्णलगायत हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा पनि सरकारको ध्यान गएको छ ।’

जेठ २१ गते प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीहरुसँग छलफल गरे । ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भयो ।

जेठ २१ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तक युवासँग अन्तरक्रिया कार्यक्रममा सहभागि भए । जहाँ उनले उद्यमशीलताको विकासबिना रोजगारीको अवसर सिर्जना नहुने बताए । 

उनले भने, ‘मैले धेरै पहिलादेखि भनिरहेको छु अहिले पनि त्यही भन्छु उद्यमशीलताको विकास गर्नुपर्छ । उद्यमशीलताको विकास नगरीकन रोजगारीको अवसर कहाँबाट आउँछ ? हामीले सरकारी जागिर मात्र खोज्ने हो भने त कहिले एउटा रिटाएर होला र मौका पाउला भनेर बस्नुपर्छ । यो त सिमित हो । एक प्रतिशतले पाउने हो जागिर  । त्यसैले उद्यमशीलताको विकास बाहेक अरु कुनै उपाए छैन् ।’

यसैगरी जेठ २३ गते काठमाडौं महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयबासीको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरे । भेटमा ओलीले  ऐतिहासिक सुन्धारा र पूरानो धरहराको अवशेषलाई संरक्षण गर्न आवश्यक रहेको बताएका थिए । (आकांक्षा धामी,नेपाल न्यूज बैंक) 

 
 

प्रतिक्रिया